Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रेस सेन्टरको स्थापना दिवसः २ सहीद परिवारलाई सम्मान 
सहीद परिवारलाइ सम्मान गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य, कर्णाली प्रदेश समिति सदस्य तथा प्रेस सेन्टरका संस्थापक नेता गोविन्द रोका ‘सचिन’ ।

प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा रुकुम पश्चिममा दुई सहीद परिवारलाई सम्मान गरिएको छ । प्रेस सेन्टर नेपाल रुकुम पश्चिम जिल्ला समन्वय समितिले क्रान्तिकारी पत्रकार सहीद चिनहादुर बुढा ‘समर’ र प्रेमप्रकाश चन्द ‘डाँफे’का परिवारलाई सम्मान गरेको हो । दिवसको अवसरमा सानीभेरी गाउँपालिकाको सिम्लीमा शनिबार एक कार्यक्रमको आयोजना गरी चिनबहादुरकी श्रीमति कमला राना बुढा र प्रेमप्रकाशकी दिदी भावना चन्दलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य, कर्णाली प्रदेश समिति सदस्य तथा प्रेस सेन्टर नेपालका संस्थापक नेता गोविन्द रोका ‘सचिन’ र माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्य तथा गाउँपालिका इन्चार्ज बिर्खबहादुर बिष्ट लगायतले सम्मान गर्नुभयो । 

जनयुद्धको प्रचार मोर्चाकै क्रममा चिनबहादुरको २०६२ फागुन १६ गते पाल्पाको तिनगिरेमा सहादत भएको थियो भने प्रेमप्रकाशको २०६१ साउन २० गते अर्घाखाँचीमा सहादत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य, कर्णाली प्रदेश समिति सदस्य तथा प्रेस सेन्टरका संस्थापक नेता गोविन्द रोका ‘सचिन’ले सहीदको बलिदानीका कारण नै यो परिवर्तन सम्भाव भएको बताउनुभयो । 

अहिलेको परिवर्तन माओवादीले सुरु गरेको जनयुद्धका कारण मात्र सम्भव भएको र त्यसमा चिनबहादुर, प्रेमप्रकाश लगायतका हजारौं सहीदको बलिदानीको अतुलनिय योगदान रहेको उहाँको भनाई छ । प्रेस सेन्टर स्थापना नहुँदै चिनबहादुर र प्रेमप्रकाशले जनयुद्धको अग्रमोर्चामा रहेर काम गरेको स्मरण गर्दै उहाँहरुको सम्मानमा उहाँहरुलाई मरोनोपरान्त प्रेस सेन्टरको सदस्यता प्रदान गर्न उहाँले प्रेस सेन्टर जिल्ला समन्वय समितिलाई आग्रह समेत गर्नुभयो । 

पत्रकारिताको माध्यमबाट उत्पिडनमा परेका र पिँधमा रहेका जनताका लागि आवाज उठाउनुपर्ने आवश्यकता अहिलेपनि उत्तिकै रहेको उहाँले बताउनुभयो । ‘हिजो माओवादी सदिऔं देखि चेपुवामा परेका वर्गका लागि आन्दोलनमा गयो, आज पनि त्यो आन्दोलन जारी छ, पत्रकारिताको माध्यमबाट पनि त्यस्ता वर्गका आवाज सुनिनुपर्छ उहाँले भन्नुभयो ।’

कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्य तथा सानीभेरी गाउँपालिकाका इन्चार्ज बिर्खबहादुर बिष्ट ‘केदार’, प्रेस सेन्टरका केन्द्रीय सदस्य मेगराज खड्काले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा प्रेस सेन्टरका कर्णाली प्रदेश कोषाध्यक्ष गोपाल रेग्मी, प्रेस सेन्टर जिल्ला समन्वय समति तथा सानीभेरी पालिका समितिका पदाधिकारी तथा सदस्यहरुको पनि सहभागिता रहेको थियो । 

प्रेस सेन्टर जिल्ला समन्वय समितिका अध्यक्ष हरि गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सानीभेरी गाउँ समितिका अध्यक्ष छविलाल बिष्टको स्वागत मन्तव्य थियो भने कार्यक्रमको संचालन प्रेस सेन्टर जिल्ला समन्वय समितिका सचिव नारायण ओलीले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update