Kakhara सबैको खबर सम्पूर्ण खबर
३३ सय बढी मास्क वितरण, विपन्न परिवारलाई खाद्यान्न 

प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा रुकुम पश्चिममा ३३ सय बढी मास्क वितरण गरिएको छ । दिवसको अवसरमा प्रेस सेन्टरका पालिका समितिहरुले कोरोना भाइरसबाट जोगिनका लागि मास्क तथा अन्य स्वास्थ्य सामग्रिहरु वितरण गरेका हुन् । 

प्रेस सेन्टर मुसीकोटले २ हजार मास्क र २१ वोतल सेनिटाइजर वितरण गरेको छ । संगठनले मुसीकोटमा रहेका विभिन्न ९ वटा सञ्चार माध्यमहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको प्रेस सेन्टर मुसीकोटका अध्यक्ष दिपेन्द्र महताराले जानकारी दिनुभयो । 

प्रेस सेन्टर चौरजहारीले १३ सय मास्क वितरण गरेको छ । चौरजहारी बजार क्षेत्रमा भेटिएका कामदार, किसान, व्यापारी तथा स्वास्थ्यकर्मीहरुलाई मास्क वितरण गरेको हो । यसका साथै संगठनले ४ जना अशक्तलाई फलफुल समेत वितरण गरेको प्रेस सेन्टर चौरजहारीका अध्यक्ष तिलक ओलीले बताउनुभयो । 

प्रेस सेन्टर आठबीसकोट नगर समितिले राडिमा रहेका २० घर वादी परिवारलाई खाद्यान्न सहयोग गरेको छ । स्थापना दिवसको अवसर पारेर प्रति परिवार ५ किलो आटा र १/१ किलो दाल प्रदान गरिएको प्रेस सेन्टर आठबीसकोट नगर अध्यक्ष सत्य बटालाले बताउनुभयो । 

प्रेस सेन्टर बाँफिकोटले पनि गाउँपालिकामा रहेका २ अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । ५०/५० किलो चामल, १/१ लिटर तेल, १/१ पोका नुन र १/१ किलो दाल प्रदान गरिएको प्रेस सेन्टर बाँफिकोटका अध्यक्ष प्रचण्ड खत्रीले बताउनुभयो । 

स्थापना दिवसको अवसरमा जिल्लाका अन्य स्थानीय तहले पनि शनिबार विभिन्न कार्यक्रमहरु गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update