रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले नगरको प्रशासनिक केन्द्र वडा नम्बर ९ को राडिमा २५ बेडको नगर अस्पताल संचालन गरिरहेको छ । स्थानीय तह बनेपछि अस्पताल संचालन गर्ने देशकै पहिलो स्थानीय तह आठबीसकोट रहेको नगरपालिकाको दाबी छ । स्थानीय तह बने लगत्तै २०७५ असोर १२ गते नगर अस्पताल उद्घाटन गरिएको थियो । सामान्य संरचनामा संचालनमा आएको नगर अस्पतालका लागि हाल सुविधा सम्पन्न भवन निर्माण भइसकेको छ । अझै अर्को भवन निर्माणको क्रममा छ । अस्पतालमा नगरपालिकाले एक जना डाक्टर सहित विभिन्न स्वास्थ्यकर्मीहरुको व्यवस्था गरेको छ । नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएको बताएको छ ।
विकट स्थानीय तहका रुपमा रहेकोले नजिकमा स्वास्थ्य संस्था नहुँदा नगरवासीले सामान्य रोग लाग्दा पनि समयमा उपचार नपाउदा अकालमै ज्यान गुमाइरहेको अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य संस्था स्थापनालाई प्राथमिकता दिईएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो । स्थानीय तह हुनुअघि नगरपालिका भरमा ५ वटा मात्र स्वास्थ्य संस्था रहेकामा हाल भने नगर अस्पताल सहित २२ वटा स्वास्थ्य संस्थाहरु रहेको उहाँले बताउनुभयो । ‘पहिला हामीसंग ५ वटा स्वास्थ्य चौकी मात्र थिए हाल भने एउटा नगर अस्पताल, ४ वटा स्वास्थ्य चौकी, ९ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ८ वटा शहरी स्वास्थ्य इकाइ छन्, उहाँले भन्नुभयो ।’
उहाँका अनुसार नगरपालिकाले स्वास्थ्यकर्मी व्यवस्थापनलाई पनि प्राथमिकता दिएको छ । अहिले नगरमा ९४ जना स्वास्थ्यकर्मी छन् । जसमा १ जना डाक्टर, १ जना जनस्वास्थ्य निरीक्षक, १० जना एच.ए, ३ जना स्टाफ नर्स, १ जना रेडियो ग्राफर, १ जना ल्याब टेक्निसियन, १ जना बायोमेडिकल सब इन्जिनियर र २२ जना अहेव, ३१ जना अनमी, २ जना ल्याब असिस्टेन्ट, १९ जना कार्यालय सहयोगि र अन्य २ जना छन् । स्थानीय तह बन्नुभन्दा पहिला ५ जना एच.ए., ६ जना अहेव, ५ जना अनमी र ५ जना कार्यालय सहयोगि गरी २१ जना मात्र रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले बताउनुभयो ।
२ वटा वर्थिङ सेन्टर रहेकामा अहिले ४ वटा पुगेका छन् । त्यस्तै २ वटा कुपोषणको बहिरंग उपचार केन्द्र स्थापना गरिएको शाहले बताउनुभयो । स्थानीय तह बनिसकेपछि खोप प्रतिशत बढेको, प्रोटोकल अनुसार गर्भजाँच तथा स्वास्थ्य संस्थामा प्रसुति दर बढेको, सुत्केरी जाँच तथा परिवार नियोजनका साधनको प्रयोगमा समेत बृद्धि भएको नगरपालिकाले जनाएको छ ।
आफुहरु निर्वाचित भएर आउँदा स्वास्थ्य अवस्था चिन्ताजनक अवस्थामा रहेको र स्वास्थ्यलाई प्राथमिकतामा राखेको नगर प्रमुख गोर्खबहादुर केसीले बताउनुभयो । सडक सञ्जाल, बिद्युत, सञ्चारमा समेत जोडिन नसकेको अवस्थामा नगरवासीले सामान्य स्वास्थ्य सेवा पनि नपाएर अकालमै ज्यान गुमाउने बाध्यता रहेकोले उक्त बाध्यताको अन्त्यका लागि स्वास्थ्यलाई प्राथमिकता दिईएको उहाँले बताउनभुयो । फलस्वरुप अहिले नगरपालिकाको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको उहाँको भनाई छ । अझैपनि सुधार गर्नुपर्ने कुराहरु धेरै रहेको समेत उहाँले बताउनुभयो ।
दरबन्दी अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापन,स्थापना भएका स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउने, नगर अस्पताललाई थप व्यवस्थित बनाउदै लैजाने, सबै स्वास्थ्यकर्मीहरुलाई समय समयमा क्षमता विकासका तालिम दिदै लैजाने योजना नगरपालिकाको रहेको उहाँले बताउनुभयो । नगरपालिका सबै सूचकमा अन्य स्थानीय तहको तुलनामा दुर्गम छ । अझै पनि सबै वडामा सडक सञ्जाल जोडिएको छैन् भने सबैतिर सहज सञ्चार र बिद्युतको पहुँच पुग्न सकेको छैन् । अन्य सूचकमा पनि नगरपालिका पछाडि छ । जनसंख्या र भूगोलका आधारमा यो नगरपालिका जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह हो ।