Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटका ८ वडा भवन बन्दै

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका ८ वटा वडाका नयाँ भवन बन्ने भएका छन् । नगरपालिकाको आन्तरिक स्रोतबाट नगरका ८ वडाका भवन बन्न लागेका हुन् । भवन निर्माणका लागि ठेक्का लागि सकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडा नम्बर २, ३, ६, ८, १०, ११, १२ र १३ नम्बर वडाका कार्यालय भवन बन्न लागेका हुन् । नयाँ भवनका लागि नगरपालिकाबाट एउटा वडालाई ३२ देखि ५० लाखसम्म बजेट छुट्याईएको प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताउनुभयो । चालु आर्थिक वर्ष भित्रै भवन निर्माण सक्ने गरी ठेक्का समेत लागिसकेको उहाँको भनाई छ । 

केही वडामा भवन निर्माणको काम समेत सुरु भइसकेको उहाँले बताउनुभयो । सेवा प्रवाहलाई राम्रो बनाउने उदे्श्यले भाडामा रहेका वडा कार्यालयका भवन निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ । यि ८ वडाका भवन निर्माण भएपनिअझै केही वडा कार्यालय भाडामै रहने छन् । 

जग्गाप्राप्ती गर्न नसकेका वडा नम्बर ४, ५, ९ र १४ नम्बर वडाको भवन बन्न समय लाग्ने भएको छ । वडा नम्बर ७ को भने आफ्नै भवन रहेको छ । वडा नम्बर १ पनि साविकको नगरपालिकाको कार्यालयबाट संचालनमा छ । वडा नम्बर ९ पनि भाडाको घरमा छैन । अन्य सबै वडा अहिले भाडाको घरबाट संचालनमा आईरहेका छन् । 

सबै वडा कार्यालयका भवन निर्माण कार्य सुरु गर्ने भनिए पनि जग्गा नभएका वडामा भवन निर्माणको काम सुरु हुन नसकेको नगरपालिकाको भनाई छ । नगरपालिकाले चालु आवमा सबै वडामा कार्यालय भवनका लागि २०/२० लाख रुपैंया विनियोजन गरेको थियो । तर उक्त बजेटमा भवन नबन्ने भएपछि स्टामेट अनुसार ८ वडा कार्यालयका लागि बजेटको व्यवस्था गरिएको बताईएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update