Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी १४ को लम्पाकोट र बञ्चरेमा खानेपानी पुग्दै 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १४ का लम्पाकोट र बञ्चरेका स्थानीयले भोग्दै आएको खानेपानीको समस्या हल हुने भएको छ । वर्षौदेखि खानेपानीको समस्यामा रहेका यि दुइ टोलका १ सय ५६ घरपरिवारमा खानेपानीको सहज पहुँच पुग्न लागेको हो । 

जसका लागि पाखापानी–लुगाधुनेखोला–तिमिले ग्रामिण सामुदायिक सौर्य खानेपानी आयोजना विस्तार गर्न लागिएको छ । प्रदेशबाट आएको ३० लाख बजेटबाट आयोजना विस्तारको काम सुरु भएको उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर केसीले जानकारी दिनुभयो । यसका लागि १ करोड खर्च लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । 

बाँकी बजेट नगरपालिकाले व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । यस आयोजनाबाट वडाका तिमिले र चिन्तुमा यसअघि नै खानेपानी पुगिसकेको छ । लम्पाकोट र बञ्चरेका स्थानीयले पनि यसै आयोजना मार्फतको पानी पिउँदै आएका छन् । तर त्यसका लागि हिडेर पातिहाल्ना भन्ने ठाउँसम्म पुग्नुपर्छ । 

पातिहाल्ना पुग्न दुइ गाउँका स्थानीयलाई करिब २० मिनेट समय लाग्छ । अहिले पालो पालो गरेर खानेपानी वितरण भइरहेको अध्यक्ष केसीले बताउनुभयो । ‘मुहानमा प्रशस्त पानी भएपनि कम क्षमताका कारण थोरै मात्र पानी तान्न सकिएको छ, यसले सबैलाई पुग्न सकेको छैन्, उहाँले भन्नुभयो–पानी नपुग्ने भएपछि एक दिन एउटा गाउँ र अर्कोदिन अर्को गाउँका लागि पानी छाडिन्छ ।’

आयोजनाको क्षमता बृद्धिका साथै विस्तार गरिने भएपछि लम्पाकोट र बञ्चरे गाउँका सबै घरमा धारा पुर्याउने लक्ष राखिएको उपभोक्ता समितिले जनाएको छ । यसका लागि काम सुरु भइसकेको छ । चैत्रसम्ममा काम सकेर बैशाख सम्ममा पानी वितरण गर्ने लक्ष राखिएको अध्यक्ष केसीको भनाई छ । 

यो आयोजना सुरुमा २०७३ सालमा निर्माण गरिएको थियो । चौरजहारीका विभिन्न लेकमा खानेपानीका मुहान नभएपछि गाउँभन्दा तल रहेका पानीका मुहानबाट पानी तानेर लेकमा पुर्याएर वितरण गर्ने गरिएको छ ।   
 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update