रुकुम पूर्वमा भाएको भारी हिमपातले मध्यपहाडि लोकमार्गको लकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको छ । बिहिबार देखिको मौसम बदलीपछि भएका हिमपातले यो खण्ड अवरुद्ध भएको हो । सडकमा बाक्लो हिउँ परेको छ । हिउँले सडक पुरिएपछि रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर १ देखि रुकुम पूर्व र बाग्लुङको सीमा क्षेत्र पातिहाल्नासम्मको खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । यसअघि पनि हिमपातका कारण यो खण्ड अवरुद्ध हुने गरेको थियो ।
माथिल्लो भेगमा पर्ने भएकाले उक्त क्षेत्रमा हिउँ परिराख्छ । गत पुष दोस्रो साता पनि यो खण्ड हिमपातका कारण बन्द भएको थियो । झण्डै एकसाता भन्दा लामो समयसम्म अवरुद्ध भएको सडक हिउँ हटाएर खुलाईएको थियो । लोकमार्ग अवरुद्ध भएपछि रुकुम पूर्व आउने तथा रुकुम पूर्व, रोल्पा लगायतका ठाउँबाट काठमाडौं सहित विभिन्न ठाउँमा जाने यात्रुहरु विभिन्न ठाउँमा अलपत्र परेका छन् । मध्यपहाडि लोकमार्ग भएर काठमाडौं जादा अन्य सडकको तुलानामा छिटा पुगिन्छ ।
तर हरेक वर्षको हिउदयाममा यो खण्ड हिउँका कारण बन्द हुने गरेको छ । जसका कारण रुकुम पूर्व, रोल्पा तथा रुकुम पश्चिमबाट समेत काठमाडौं सहित बाग्लुङ, कास्की लगायतका ठाउँमा जावत जावत गर्ने यात्रुहरुलाई समस्या हुने गरेको छ ।