रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले जेष्ठ किसानलाई मासिक पेन्सन दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को श्रावण १ गतेबाट लागु हुनेगरी किसानलाई प्रत्यक महिना पेन्सन दिने भएको हो । जसका लागि गाउँपालिकाले कागजात सहित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । गाउँपालिकाले गाउँ सभा तथा गाउँ कार्यपालिकाको निर्णय अनुसार जेष्ठ किसानलाई प्रति महिना ५ सय रुपैंया पेन्सन दिने निर्णय गरेको थियो ।
सोही निर्णय कार्यान्वयन हुन लागेको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । पेन्सनका लागि गाउँपालिकाले माघ २५ गतेसम्म आफ्नो वडा कार्यालयमा आवश्यक कागजात सहित उपस्थित हुन अनुरोध गरेको छ । गत वर्षको असारमै गाउँसभाबाट पास भएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा किसान पेन्सन कार्यक्रमलाई समेटिएको र अव त्यसलाई कार्यान्वयनमा लैजान लागेको वडाध्यक्ष केसीले बताउनुभयो । श्रावण १ गतेबाटै लागु हुने गरी पेन्सन वितरण गरिने उहाँको भनाई छ ।
उहाँका अनुसार दलित किसानको हकमा ५५ वर्ष पुरा भइ ६० वर्ष नपुगेकालाई पेन्सन दिईने छ भने गैर दलितको हकमा ६० वर्ष पुरा भइ ७० वर्ष ननाघेको हुनुपर्ने छ । एक घरबाट एक जनाले मात्र पेन्सन पाउने छन् । पेन्सनका लागि कुनैपनि खालको सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेको हुनु पर्ने छ । त्यस्तै पेन्सनका लागि नागरिकताको फोटोकपि, बैंक खाता र चेकको फोटोकपि बुझाउनु पर्ने वडाध्यक्ष केसीको भनाई छ । कार्यविधि बनाउनु पर्ने तथा अन्य प्रक्रिया पुरा गर्दा पेन्सन वितरणमा केही ढिलाई भएको गाउँपालिकाले जनाएको छ ।