२०७७ सालमा मनसुनजन्य विपदका कारण भत्किएका घर निर्माणका लागि दोस्रो र तेस्रो किस्ताको रकम पठाउन प्रदेश र संघले ढिला गरेका छन् । जिल्लामा कुल ८९ घर पुनर्निर्माण तथा मर्मत गर्नुपर्ने देखिएपनि ८१ घर परिवारले मात्र आवश्यक कागजात सहित सम्पर्क गरेका थिए ।
८१ मध्यमा ७८ घर पुननिर्माण गर्नुपर्ने र ३ घर मर्मत गर्नुपर्ने अवस्थामा थिए । पुनर्निर्माणका लागि ७८ घरपरिवारले आवदेन दिएकामा पहिलो किस्ता भने ७४ घरपरिवार र मर्मत गर्नुपर्ने ३ मध्य २ घरले मात्र पाएका छन् । पहिलो किस्ता वाफत ७५ हजार प्रदान गरिएको थियो ।
प्रदेश सरकार र संघीय सरकारले रकम नपठाउँदा पुनर्निर्माण कार्य सकिदा पनि लाभग्राहीहरुले दोस्रो र तेस्रो किस्ता वाफतको रकम पाउन सकेका छैनन् । संघले १ करोड ३५ लाख ५० हजार रुपैंया पठाउन बाँकी छ भने प्रदेशले १ करोड ५७ लाख ५० हजार पठाउन बाँकी छ ।
लाभग्राहीले २०७७ कै असोजमा बाँकी रहेको रकम भुक्तानीका लागि फाइल बुझाएको भएपनि संघ र प्रदेशले रकम नपठाइदिदा भुक्तानी हुन नसकेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो । उहाँका अनुसार संघ र प्रदेशबाट आउँन बाँकी रकमका लागि ताकेता गरिएको छ ।
माघ १६ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट प्रदेश र संघ सरकारलाई विपद प्रभावित घर पुनर्निर्माणका लागि जिल्लाले पाउनुपर्ने रकम तत्काल उपलब्ध गराईदिन माग गरी पठाएको प्रमु जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
वर्षातका कारण क्षेति भएका घर स्थानीय, संघ र प्रदेश सरकार मिलेर निर्माण गर्ने योजना अनुसार कुल रकमको गाउँपालिकाले १० प्रतिशत, नगरपालिकाले १५ प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र बाँकी रहेको ४५ प्रतिशत संघ सरकारले व्यहोर्ने व्यवस्था छ ।
स्थानीय तहहरुले भने आफ्नोमा भारमा परेको रकम व्यहोरि सकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घर निर्माणका लागि तीन किस्तामा गरेर लाभग्राहीले ४ लाख रुपैंया पाउनुपर्छ । घर निर्माण गरेको लामो समयसम्म पनि दोस्रो र तेस्रो किस्ता वाफतको रकम नपाउदा आफुहरु समस्यामा परेको लाभग्राहीको भनाई छ ।