Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा ओली पक्षको बृहत कार्यकर्ता भेला हुँदै

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूह रुकुम पश्चिमले बृहत कार्यकर्ता भेला गर्दैछ । जिल्ला सदरमुकाम खलंगामा ओली समूहले विहीबार दिउँसो बृहत कार्यकर्ता भेला गर्न लागेको हो । नेकपाका दुई छुट्टछुट्टै समूह बनेपछि ओली पक्षको यो पहिलो खुला कार्यक्रम हो । भेलालाई सम्बोधनका लागि पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री महेश बस्नेत आउने केन्द्रीय सदस्य नन्दराम देवकोटाले जानकारी दिनुभयो ।

पछिल्लो घटना क्रमका बारेमा पार्टीको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको देवकोटाले बताउनुभयो । आधिकारीक नेकपाको कार्यकर्ता भेला हुन लागेको दावी देवकोटाको छ । पार्टीका अध्यक्ष तथा सचिव अन्यत्रै गएपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको भनाई देवकोटाको छ । पार्टीको काम चलाउनका लागि संरचना बनाउने विषयमा छलफल भइरहेको देवकोटाले बताउनुभयो ।

नेकपाका नेता कार्यकर्ता दुई समूहमा बाँडिने क्रममा रुकुम पश्चिम जिल्लाका अध्यक्ष तथा सचिव लगायतको टोली प्रचण्ड–माधव नेपाल समूहमा लागेको छ । पार्टी दुई समूह बनेपछि ओली पक्षले तिर्था गौतम, नन्दराम देवकोटा, विद्यापती रिजाल र नारायणकुमार शाहलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यो बाहेक जिल्लामा ओली पक्षको खास संगठनात्मक संरचना बनेको छैन । दुवै समूहले आधिकारीक नेकपा आफूहरुकै भएको दावी गर्दै आएका छन् । यद्यपी यो मुद्दा कानूनी तवरबाट टुंगो लाग्न भने बाँकी छ ।

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update