कर्मचारीहरूमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिए पछि रुकुम जिल्ला अतालतले कटौति गरेका सेवाहरु आज देखि सुरु गरेको छ । एक सूचना जारी गर्दै अदालतले माघ ११ गते देखि १३ वटा बाहेक अन्य सेवा बन्द गरेको अदालतले आजबाट सबै सेवा सुचारु गरेको हो ।
थप संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सेवा कटौति गरिएको अदालतले जारी गरेको सूचनामा उल्लेख गरिएको थियो । ११ गते देखि अन्य सेवा बन्द भएपनि बन्दीप्रत्यक्षीकरणको निवेदन, न्याय सम्पादन र सुनुवाईमा अधिक समय नलाग्ने प्रकृयागत कार्यको रुपमा रहेको मिलापत्र, मुद्दा फिर्ता, ढिसमिस र तामेली लगाएतका काम कारवाही भने भैरहेका थिए ।
मुद्दामा प्रमाण बुझि अंग र सुनवाई प्रकृयामा अदालतको आदेशले बाल सुधार गृहमा रहेका बालबालिका मात्र संलग्न रहेका फौजदारी मुद्दा र सो सम्बन्धी निवेदन, कसूर कायम भई सजाय पूर्वको प्रतिवेदन प्राप्त भईसकेको वा सहज रुपमा प्राप्त हुने अवस्थाका सजाय निर्धारण गर्न बाँकी मुद्दाको सुनुवाईको सेवा पनि प्रवाह भैरहेको थियो ।
त्यस्तै जिल्ला अदालतले अर्धन्यायिक निकायले गरेको आदेश उपर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम पर्न आएका निवेदनमा सुनुवाई गर्नुका साथै घरेलु हिंसा (कसूर, सजाय) ऐन, २०६६ को दफा ५ को उपदफा २ बमोजिमका मुद्दाहरु दर्ता पनि गरिएको थियो ।
सरकारवादी फौजदारी मुद्दामा फरार रहेका प्रतिवादी अदालतबाट जारी भएको म्यादमा तत्काल कोभिड–१९ परीक्षण गरेको पिसिआर रिपोर्ट सहित बयानका लागि हाजिर भएमा बयान गरी बाँकी कार्य अगाडि बढाईएको थियो । एक सुचना जारी गर्दै आजबाट भने यि बाहेकका कटौति गरिएका सेवा पनि सुचारु भएको जानकारी गराईएको हो ।