रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ खलंगामा रहेको त्रिभुवन जनता माविमा शिक्षक पदपुर्तिका लागि हात उठाएर मतदान भएको छ । खाली हुन लागेको मावि अंग्रेजि शिक्षकको पदपुर्तिका लागि विद्यालय व्यवस्थापन समितिमा हात उठाएर मतदान भएको हो । एक जनाका लागि तीन जनाको आवेदन परेपछि विव्यसले बहुमतका आधारमा निर्णय गरेको हो । ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति रहेकामा समितिका अध्यक्ष र सदस्यहरुले हात उठाएर मत प्रकट गरेका हुन् ।
जसबाट चन्द्रबहादुर खड्काको पक्षमा बढी मत प्रकट भएको छ । खड्का सहित रुपेन्द्र रावत र शंकर रावलले आवेदन दिएपछि विद्यालय व्यवस्थापन समितिमा मतदानको अवस्था सृजना भएको थियो । खड्काको पक्षमा ५ र रावतको पक्षमा ४ मत जाहेर भयो । रावललाई भने कुनैपनि मत आएन । विव्यस अध्यक्ष खेमराज खड्का सहित सदस्यहरु हरिप्रसाद खनाल, इन्दिरा बि.एम., मुसीकाेट १ का वडाध्यक्ष बिरबल केसीका तर्फबाट कार्यवाहक वडाध्यक्ष टेकबहादुर बिसी, नन्दबहादुर बिष्ट, सुनिल शाह, कृष्णा श्रेष्ठ, भिमबहादुर खड्का र दीपा कर्णले हात उठाएर आफ्नो मत जाहेर गर्नुभएको थियो ।
विद्यालयमा मावि तहमा कार्यरत अंग्रेजि शिक्षक हेमा बुढा रुकुम पूर्वको रुक्मिणि मावि रुकुमकोटमा सरुवा भएर जान लागेपछि उहाँको ठाउँमा आउनका लागि शिद्धचौर मावि लुकुममा कार्यरत रुपेन्द्र रावत, त्रिपुरा मावि छिङमा कार्यरत शंकर रावल र राप्ती ज्ञानोदय मावि सिम्लीमा कार्यरत चन्द्रबहादुर खड्काले आवेदन दिनुभएको थियो । सहमति नजुटेपछि शनिबार बिद्यालय व्यवस्थापन समितिमा मतदान भएको थियो । अव हेमा बुढा सरुवा भएर गएपछि चन्द्रबहादुर खड्का विद्यालयमा हाँजिर हुने प्रध्यानाध्यापक हरिप्रसाद खनालले बताउनुभयो ।