रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका १४ औं नगर सभा सम्पन्न भएको छ । नगर सभाले विभिन्न १२ प्रस्ताव सर्वसम्मत पारीत गरेको छ । केही दिन अघि दिवंगत हुनु भएका सभा सदस्य पुष्ते रानाप्रति श्रदाञ्जली अर्पन गर्दै शोक प्रस्ताव पारीत गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको प्रगति समिक्षा गरेको छ ।
नगरपालिकाको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम संशोधन गरेको छ । नगर सभाले नगर कार्यपालिकाबाट पारीत विभिन्न ऐन, नियम, कार्यविधि, निर्देशिका तथा अन्य कानून पारीत गरेको छ । नगरपालिकाको स्वास्थ्य नीति २०७८, सामाजिक समावेशिकरण नीति २०७८ पारीत गरेको छ ।
नगर बस सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७६ को परिच्छेद २, को दफा (६)को संशोधन प्रस्ताव पारीत गरेको सभाध्यक्ष विशाल शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित आयोजनाको नगरपालिकाबाट साझेदारी गरी बाँडफाँड गरेको रकम अनुमोदन समेत नगर सभाबाट गरिएको शर्माले बताउनुभयो । बालुवा, गिट्टी, ढुंगा, दहत्तर,बहत्तर विक्री वापतको रकम आन्तरिक आयको रुपमा सञ्चित गर्ने, संघ तथा प्रदेशबाट प्राप्त बजेट र कार्यक्रमको अनुमोदन पनि नगर सभाबाट गरिएको छ ।