Kakhara सबैको खबर सम्पूर्ण खबर
जिर्ण बेलिब्रिजमा जोखिमपूर्ण यात्रा
साँख खाेला माथि रहेकाे जाेखिमपूर्ण बेलिब्रिज ।

राप्ती राजमार्गको साँखखोलामा रहेको बेलिब्रिज जिर्ण बन्दा जोखिम बढेको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ४ र १२ लाई जोड्ने पुल दिन दिनै जिर्ण बन्दै जादा जोखिम बढ्दै गएको छ । २०६२ सालमा निर्माण भएको बेलिब्रिज निकै जिर्ण बनेर सवारीका साधनलाई वारपार गर्न मुश्किल भएको छ । पुलमा रहेका पाता (प्लेट) टुक्रिएका छन् भने राखिएको ठाउँबाट निस्किएका छन् । जसले गर्दा मोटरसाईकल लगायतका साना सवारीका साधन पुलबाटै खस्ने जोखिम रहेको छ । त्यस्तै ठुला सवारीका साधनको भार समेत थेग्न पुललाई हम्मे भएको छ ।

निर्माण भएको धेरै समय भैसकेको र बेला बेलामा सामान्य मर्मत गरिएपनि अव पुलले धेरै समय भार थेग्न सक्ने अवस्था नरहेको स्थानीयको भनाई छ । पुलमा रहेका फलामका पाताहरु तीन वर्ष अगाडि फेरिएको थियो । तर हाल उक्त पाताहरु पुनः टुक्रिदै गएका हुन् । पुलमा ठुला ठुला प्वालहरु रहेका छन् । अहिलेसम्म ठुलो दुर्घटना हुनबाट जोगिएको भएपनि पुल मर्मतमा कसैको ध्यान नजाने हो भने ठुलै दुर्घटना नहोला भन्न नसकिने अवस्था रहेको स्थानीयको भनाई छ । उक्त पुलबाट दैनिक सयौं साना तथा ठुला सवारीका साधन वारपार गर्ने गरेका छन् । रुकुम पश्चिम र पूर्वलाई दाङ तथा राजधानी काठमाडौं लगायतका जिल्लासंग जोड्ने राप्ती राजमार्गमा पर्ने यो महत्वपूर्ण पुल हो ।

पुलमा रहेका पाताहरुलाई मिलाउने बाहेक पुल मर्मतको योजना आफुहरुसंग नरहेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले बताउनुभयो । टुक्रिएका र फुत्किएका फलामका पातालाई वेल्डिङ गर्ने तथा यता उता मिलाउने बाहेक अन्य कुनै योजना नरहेको उहाँको भनाई छ ।

उक्त खोलामा पक्कि मोटरेवल पुल निर्माणको काम चलिरहेकाले पनि बेलिब्रिजको मर्मतमा बजेट कतैबाट नआएको उहाँले बताउनुभयो । ‘बेलिब्रिजको छेउमै पक्कि पुल निर्माण भैरहेको छ, पुलको काम आधा पनि भएको छैन्, उक्त पुल निर्माण हुदासम्म मात्र यो पुलको प्रयोग हुँन्छ,’ उहाँले भन्नुभयो, ‘तर पक्कि पुल सकिदासम्म यो पुलले धान्छ कि धान्दैन भन्ने मुख्य चिन्ता छ ।’

सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफुहरुले पुलमा रहेका पाताहरुलाई कस्ने देखि मिलाउने सम्मका काम गरिरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update