रुकुम पूर्वका अति विपन्न तथा विपन्न परिवारलाई न्यानो सामग्री वितरण गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अति विपन्न तथा विपन्न परिवारको पहिचान गरी चिसोबाट जोगउन प्रयास गर्ने निर्णय गरेको हो । तीन वटै स्थानीय तहका अति विपन्न र विपन्न परिवारका सदस्यलाई उनको टोपी, ब्लांकेट, न्यानो चप्पल, उलनको मोजा, उलनको चप्पल र हट वाटर ब्याड प्रदान गर्ने निर्णय गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजकुमार राईले चिसोबाट सर्वसाधारणलाई सुरक्षित राख्न सबै उपाय अपनाउने निर्णय भएको बताउनुभयो ।
प्रजिअ राईका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले ति सामग्री खरिद गर्ने छ । सम्बन्धित स्थानीय तहले सिफारिस गरेको तथ्याङ्क अनुसार नै सामग्री प्रदान गर्ने निर्णय भएको छ । चिसोको समयमा दीर्घ रोगी, अपांगता भउका, सुत्केरी, गर्भवती, जेष्ठ नागरिक र जोखिमपूर्ण अवस्थामा रहेकाहरुको विशेष ध्यान दिने, चिसोबाट विरामी परेकाहरुको उपचारमा विशेष प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ । कुनै पनि विपद्को सामाना गर्नका लागि स्थानीय तह पनि तम्तयार रहेकाले धेरै समस्या नपर्ने पूर्वानुमान गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।