Kakhara सबैको खबर सम्पूर्ण खबर
जनवर्गिय संगठनसंग माओवादी केन्द्र मुसीकोटको छलफल

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम मुसीकोट नगर समितिले पार्टीका जनवर्गिय संगठनसंग छलफल गरेको छ । आज पार्टी कार्यालय शेरिगाउँमा पार्टीका विभिन्न जनवर्गिय संगठनहरुसंग पार्टीले छलफल गरेको हो । 

योङ्ग कम्युनिष्ट लिग(वाईसीयल), अखिल नेपाल महिला संघ क्रान्तिकारी, प्रेस सेन्टर नेपाल, अनेरास्ववियू क्रान्तिकारी, मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल दलित मुक्ति मोर्चा, नेपाल राष्ट्रिय कर्मचारी संगठन र किसान महासंघ क्रान्तिकारी संग पार्टीले छलफल गरेको नेकपा माओवादी केन्द्र मुसीकोटले जनाएको छ । 

बैठकले जनवर्गिय संगठनहरुलाई चलायमान गराउने निर्णय गरेको छ । जसका लागि जनवर्गिय संगठनका भेला तोकिएको छ । फागुन ७ गतेबाट फागुन १४ गतेसम्म सबै जनवर्गिय संगठनका भेला गरिसक्ने आजको बैठकले निर्णय गरेको पार्टीले जनाएको छ । 

छलफलमा सहभागि जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरुले रिपोर्टिङ समेत गरेका थिए । रिपोर्टिङमा उठेका कुरा तथा प्रश्नमाथि पार्टीका नेताहरुले भनाई राखेका थिए । माओवादी केन्द्रका मुसीकोट नगर समिति अध्यक्ष धिरेन शिर्पालीको अध्यक्षतामा बैठक बसेको थियो । 

बैठकमा पार्टीका केन्द्रीय प्रचार विभाग सदस्य तथा कर्णाली प्रदेश समिति सदस्य गोविन्द रोका सचिन, प्रदेश सदस्य सम्झना खड्का मिलन, बुद्धिप्रसाद गौतम, माओवादी केन्द्रका नेता गोप्यश्वर केसी लगायतको आतिथ्यता रहेको थियो ।  

बैठकको संचालन माओवादी केन्द्रका नगर सचिव शुशिल गौतमले गर्नुभएको थियो । बैठकले जनयुद्ध दिवसको अवसरमा विभिन्न ठाउँहरुमा व्यानर राख्ने निर्णय समेत गरेको छ ।।  
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update