Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्यार्थी राजनीति गरेका दुई युवामा क्याम्पसको जिम्मेवारी
मणिराज बटाला दाँया र खुमबहादुर खड्का बाँया ।

भर्खरै रुकुम पश्चिमका दुई क्याम्पसले सभा सम्पन्न गरेका छन् । आठबीसकोट नगरपालिकाको राडीज्यूला शिक्षा क्याम्पस र चौरजहारी नगरपालिकाको शितल क्याम्पसको सभा सम्पन्न भएको छ । सभाले नयाँ नेतृत्व चयन गरेको छ । राडीज्युला शिक्षा क्याम्पसको छैठौं सभाले मणिराज बटाला र शितल क्याम्पसको तेस्रो सभाले खुमबहादुर खड्कालाई सर्वसम्मत अध्यक्ष चुनेको छ ।

बटाला र खड्का दुवै विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा आएको युवा हुन् । बटाला ३३ र खड्का ३१ वर्षमा रनिङ छन् ।  बटाला अखिल क्रान्तिकारी भक्तपुर जिल्ला अध्यक्ष बनेका थिए भने खड्का बाँके जिल्लाको अध्यक्ष हुँदै केन्द्रीय सदस्य समेत बनेका थिए । दुवैलाई क्याम्पस सभाले अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । दुवैले क्याम्पसको बृहत्तर हितका लागि काम गर्ने प्रतिक्रिया दिएका छन् । 

शैक्षिक हब बनाउन प्रयास गरिन्छः बटाला
बटालाले राडीज्युला शिक्षा क्याम्पसलाई शैक्षिक हब बनाउन प्रयास गर्ने बताउनुभयो । हाल शिक्षा विषय मात्रै पठन पाठन भइरहेको क्याम्पसमा विविभन्न विषयको साथै प्राविधिक विषयको पनि अध्ययन गर्ने गराउने योजना अघि बढाइने बटालाको भनाई छ । त्रिभुवन विश्व विद्यालयबाट अनुमति मात्रै पाएको क्याम्पसलाई आंगिक बनाउन प्रयास गर्ने, विद्यार्थीलाई नियमित क्याम्पस आउने वातावरणका लागि निरन्तर लाग्ने बटालाले बताउनुभयो ।

भर्ना हुने, परीक्षामा सामेल हुने र प्रमाण पत्र मात्रै लिने चलनको अन्त्यका लागि भरपुर लाग्ने भनाई बटालाको छ । शिक्षामा राज्यले लगाउनी बढाउनुपर्ने, शिक्षालाई व्यवहारीक, जीवन उपयोगी बनाउनका लागि राज्य लाग्नुपर्ने र त्यसको सहजिकरण क्याम्पस सञ्चालक समितिको तर्फबाट हुने बटालाले बताउनुभयो ।

भौतिक पूर्वाधारले सम्पन्न बनाउनका लागि पनि योजना बनाइएको उहाँको भनाई छ । ‘संविधानमा निःशुल्क र व्यवहारी शिक्षा उल्लेख भएको छ, त्यसको कार्यान्वयनका लागि समितिको तर्फबाट निरन्तर खबरदारी र ताकेता हुन्छ,’ बटालाले भन्नुभयो, ‘गाउँमै उच्च शिक्षा हासिल गर्ने उत्कट चाहना भएकालाई सबै किसिमको विषय अध्यापनको वातावरण बनाउन सकेको गरिन्छ ।’ 

डिग्री पठन पाठन प्राथमिकतामाःखड्का
खड्काले डिग्री पठन पाठन सञ्चालन गर्ने मुख्य प्राथमिकता रहेको बताउनुभयो । विए,विएड कार्यक्रम थप्ने, मध्यपश्चिम विश्व विद्यालयबाट सम्बन्धन ल्याउने कार्यलाई पनि प्राथमिकतामा राखिएको खड्काको भनाई छ । यस अघि नै यो क्याम्पसले मध्यपश्चिम विश्व विद्यालयबाट सैदान्तिक सहमति ल्याइसकेको छ । भौतिक पूर्वाधार निर्माणमा जोड दिने त्यसका लागि यो वर्ष ८ कोठे भवन निर्माण भइरहेको र अर्को वर्ष १२ कोठे भवन बन्ने खड्काले बताउनुभयो ।

जनशक्ति व्यवस्थापनका पनि सञ्चालक समिति ध्यान दिने भनाई उहाँको छ । ‘भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापनमा सम्पन्न भइसकेपछि क्याम्पसको वातावरण यसै पढ्न लायक गुणस्तरीय हुन्छ भन्नेमा हाम्रो विश्वास छ,’ खड्काले भन्नुभयो, ‘यसैले क्याम्पसले हामीलाई चाहिएको शिक्षा, दिक्षा दिन्छ भन्ने सन्देश विद्यार्थीमा पुर्याउने मुख्य लक्ष लिइएको छ ।’ 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update