नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका रुकुम पश्चिमले गाउँ तथा टोल भेला र छलफल जारी राखेको छ । केही दिन अघि बसेको गाउँपालिका समितिको बैठकको निर्णय अनुसार पालिकाका १० वटै वडाका टोल, सेल तथा गाउँमा बैठक, छलफल, भेटघाट भइरहेको माओवादी केन्द्रले जनाएको छ ।
पालिका समितिको निर्णय अनुसार टोल, सेल र गाउँ गाउँमा भेटघाट, छलफल भइरहेको पालिका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । भेला, छलफलमा गुनासा सुन्ने, गुनासा सम्बोधनको प्रयास गर्ने, विकास निर्माणको समिक्षा गर्ने, पार्टी प्रवेश गराउने तथा पार्टीले सुझाव लिने काम गरिरहेको अध्यक्ष केसीले बताउनुभयो । सबै वडामा प्रदेश समिति सदस्य, पालिकाका पदाधिकारी तथा सदस्यहरु छलफलमा जुटिरहेका छन् ।
पछिल्लो समय ६ नम्बर वडाको जिपसिङमा भेटघाट तथा छलफल भएको छ । पार्टीका पूराना नेता, सहिद परिवार, पूर्व जनमुक्ति सेना, पूर्णकालिन कार्यकर्ता र पार्टीका शुभचिन्तक, समर्थकसित छलफल भएको हो । सबै वडाका भेटघाट छलफलमा माओवादीका नेता महेन्द्र केसी, कर्णाली प्रदेश सदस्य धर्मबहादुर केसी, मनबहादुर वादी, चन्द्रबहादुर शाही, दिपेन्द्रकुमार मल्ल लगायतको टोली सहभागि भइरहेको छ ।