Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा तीन मतदान स्थल थपिए, दश वटा अन्यत्रै सारियाे
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरस्वती मावि सल्ले रुकुम पश्चिममा नमूना मतदान गरिँदै ।

रुकुम पश्चिममा तीन मतदान स्थल थप भएका छन् । मुसीकोट नगरपालिका र आठबीसकोट नगरपालिमामा ३ वटा मतदान स्थल थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुसीकोट नगरपालिका–१, को त्रिपुरा मावि छिङमा मतदान स्थल थप भएको हो । १ नम्बर वडामा रहेको मतदान स्थल सारिएको पनि छ । यस अघि सरस्वती माविमा रहेको मतदान स्थल अब त्रिभुवन जनता मावि खलंगामा हुने छ । सरस्वती मावि सल्लेको मतदान स्थल अब हटेको छ ।

यसैगरी आठबीसकोट नगरपालिका ६ मा एउटा मतदान स्थल थप भएको छ । यस अघि एउटा मात्रै मतदान स्थल रहेको यस वडाको कालिका आधारभुत विद्यालय मनका बगर पनि मतदान स्थल बनाइएको छ । आठबीसकोट नगरपालिकाकामा पनि एउटा मतदान स्थल थप भएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले बताउनुभयो ।

यस अघि आठबीसकोट नगरपालिका १० को जनता मावि झिन्चौरमा रहेको मतदान स्थल अब भगवती आधारभुत विद्यालय कोटमा हुने छ भने अर्को मतदान स्थल जनविकास मावि घारीखोला कायम गरिएको अधिकारी मल्लले बताउनुभयो । यस अघि जिल्लाका सबै वडामा एक÷एक वटा गरी ७३ मतदान स्थल रहेकामा अब भने जिल्लामा ७६ मतदान स्थल भएका छन् । 

दश मतदान स्थल नयाँ ठाउँमा सारियो
जिल्ला स्थित राजनीतिक दल, स्थानीय तह तथा जिल्ला निर्वाचन कार्यालय लगायत सरोकारवाला निकायको बैठकले दश केन्द्र अर्को ठाउँमा सारेको हो । मतदाता संख्या र पायकको अवस्था विश्लेषण गरी मतदान स्थल नयाँ ठाउँमा सारिएको जनाइएको छ । जिल्लाका १० मतदान स्थल नयाँ ठाउँमा सारिएको छ । सबै भन्दा बढी सानीभेरी गाउँपालिकाका मतदान स्थल नयाँ ठाउँमा कायम गरिएको छ ।

सानीभेरी गाउँपालिकाका ४ वटा मतदान स्थल सारिएको हो । चौरजहारीका २, मुसीकोट, आठबीसकोट नगरपालिका तथा त्रिवेणि र बाँफिकोट गाउँपालिकाका एक÷एक वटा मतदान स्थल नयाँ ठाउँमा सारिएको छ । मुसीकोट नगरपालिका ८ को लसुनबारीमा रहेको मतदान स्थल वडा कार्यालय गर्पाधुरी सारिएको छ । चौरजहारी नगरपालिका १० को आधारभुत विद्यालय मनकोटमा रहेको मतदान स्थल आधारभुत स्वास्थ्य केन्द्रमा सारिएको छ ।

चौरजहारी नगरपालिका ९ को निमावी भुवाटाकुरामा रहेको मतदान स्थल ९ नम्बर वडा कार्यालयमा सारिएको छ । त्रिवेणि गाउँपालिका ३ को सरस्वती आधारभुत विद्यालय हर्लेखारामा रहेको मतदान स्थल खारानेटा गाउँपालिका अस्पताल सारिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सानीभेरी गाउँपालिका ३ को दिव्यज्योती आधारभुत विद्यालयमा रहेको मतदान स्थल सूर्योदय मावि बेलटापुमा कायम गरिएको छ ।

सानीभेरी गाउँपालिका ७ को जनचाहना निमावी सहरेको मतदान स्थल जनज्योती आधारभुत विद्यालय फुक्रुज्युला सारिएको छ । सानीभेरी गाउँपालिका ८ को आधारभुत विद्यालय तल्लो आमडाँडामा रहेको मतदान स्थल वडा कार्यालय तल्लो आमडाँडामा सारिएको छ । सानीभेरी गाउँपालिका १० को सरस्वती माविमा रहेको मतदान स्थल जनसेवा आधारभुत विद्यालय घन्ठाना सारिएको छ ।

आठबीसकोट नगरपालिका ६ को सूर्योदय मावि होेलिको मतदान स्थल कालिका आधारभुत विद्याय मनका बगर सारिएको छ । बाँफिकोट गाउँपालिका १० को भानुभक्त मावि गारावाङको मतदान स्थल मछिन्द्र आधारभुत विद्यालय पूरानोठाँटी सारिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७३ वडा रहेको यस जिल्लामा यस अघि एक वडा एक मतदान स्थल थिए । 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update