रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ । माघ २४ गते बसेको ६७ औं नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरपालिकाले फागुन १ गते आईतबार नगरपालिकाभरमा सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै वर्तमान नेपालको संविधान २०७२ र संघिय लोकतान्त्रिक गणतन्त्रको आधारको रुपमा रहेको सशस्त्र जनयुद्धको थालनी भएको दिन २०५२ फागुन १ को सम्झानामा फागुन १ गते नगरपालिका क्षेत्रभरमा सार्वजनिक बिदा दिने नगरकार्यपालिकाको निर्णय अनुसार बिदा दिईएको जनाएको छ ।
आईतबार नगरपालिका क्षेत्रका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, संघसंस्थाहरुमा सार्वजनिक बिदा हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर बिष्टले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
नेकपा माओवादी केन्द्र र माओवादीबाट छुट्टिएर बनेका अन्य दलले समेत फागुन १ गतेलाई जनयुद्धको थालनी भएको दिनको रुपमा विभिन्न कार्यक्रम गरेर मनाउने गरेका छन् ।