रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले लक्षित बर्गलाई एम्बुलेन्स सेवा निशुल्क गरेको छ । नगरपालिकाको ७६ औ नगर कार्यपालिकाको बैठकले जनयुद्धका घाईते, अपाङ्ग, सहिद परिवार, अति विपन्न परिवार, दलित सुत्केरी महिला, जेष्ठ नागरिक र ५ वर्ष मुनीका बालबालिकाहरुको लागि एम्बुलेन्स सेवा निशुल्क गर्ने निर्णय गरेको हो । अहिले नगरपालिकाबाट दुई वटा एम्बुलेन्स संचालनमा रहेका छन् ।
नगरपालिकाले संचालन गरेको वस सेवामा पनि ५ वर्ष उमेर भन्दा कम उमेरका बालबालिकाहरु र जेष्ठ नागरिक परिचयपत्र प्राप्त गरेका जेष्ठ नागरिकलाई निशुल्क गर्ने निर्णय भएको छ । त्यस्तै घाईते, अपाङ्ग जनयुद्ध, जनआन्दोलनका घाईते, अपाङ्गलाई नगर वसमा यात्रा गर्दा निशुल्क गर्ने निर्णय गरेको छ । बिद्यार्थिको हकमा भने ५० प्रतिशत छुट गर्ने निर्णय भएको छ ।
त्यस्तै सामुदायिक कृत्रिम गर्भधान सेवा केन्द्र स्थापनाको लागि संघिय सरकारबाट प्राप्त सामुदायिक कृत्रिम गर्भधान सेवा केन्द्र वडा नं. १० चिन्नेवगरमा स्थापना गर्ने निर्णय भएको छ । गरिवि निवारणको लागि लघुउद्यम बिकास कार्यक्रम अन्तरगत समुहमा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरग सिलाई कटाईमा आवश्यक सामाग्रि खरिद गरि सबै वडामा पठाउने निर्णय भएको छ ।
त्यस्तै साना व्यवसायीक कृषि उत्पादन केन्द्र बाख्रा पकेट क्षेत्र विकास कार्यक्रमको लागि १५ लाख रकम बाडफाड गर्ने निर्णय भएको छ । जनयुद्धका घाईते तथा अपाङ्ग भएका व्यक्तिहरुको लागि परिचयपत्र बितरण गर्ने निर्णय पनि भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयको आर्थिक वर्ष २०७८/७९ को स्वीकृत कार्यक्रम अनुसार भैसी ब्लक कार्यक्रमको लागि बिभिन्न वडा छनोट गरेको छ । कार्यक्रम वडा नं. १२ र १३ मा संचालन गरिने भएको छ ।।