Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा प्रादेशिक रंगशाला पक्का
रंगशाला निर्माण स्थलको स्थलगत निरीक्षण गरिँदै ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका २, मा प्रादेशिक रंगशाला बन्ने पक्का भएको छ । संघीय सरकारको अनुदान, कर्णाली प्रदेश सरकारको तत्वाधान र चौरजहारी नगरपालिकाको सहजिकरणमा रंगशाला बन्ने भएको हो । अब रंगशालाको विस्तृत परियोजना प्रतिवेदन तयार पारिने छ ।

कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मा, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको खेलकुद समितिक परिसद्का सदस्य सचिव विश्वमित्र सञ्ज्याल, खेलकुद महाशाखा प्रमुख जुहारलाल हमाल, जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमका अध्यक्ष शैलेश शर्मा लगायतको टोलीले स्थगलत अनुगमन गरेर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउने गरी निर्णय गरेको छ ।

शुक्रबार विहान प्राविधिक सहित रहेको यो टोलीले रंगशाला बनाउने ठाउँको स्थलगत अनुगमन गरेको थियो । झण्डै ४५ हजार बर्गमिटर क्षेत्रफलमा रंगशाला बन्ने छ । यसमा फुटबल मैदान, ट्रयाक, भलिबल र ब्याडमिन्टन कभर्ड हल बन्ने खेलकुद विकास समितिका अध्यक्ष शर्माले बताउनुभयो । पूर्व मन्त्री शर्मा, सदस्य सचिव सञ्ज्याल, नगरप्रमुख सहितको टोलीको अवलोकनपछि रंगशालाको डिपिआर बनाउने गरी निर्णय भएको अध्यक्ष शर्माले बताउनुभयो ।

चौरजहारी नगरपालिकाले अपुग जग्गा उपलब्ध गराउने सहजिकरण गर्ने छ । नगरप्रमुख विशाल शर्माले झण्डै १५ सय बर्गमिटर जग्गाको मुआब्जा दिनुपर्ने अवस्था देखिएको बताउनुभयो । ५ कित्ता जग्गा व्यक्तिको परेको उक्त जग्गाको मूल्य दिएर त्यो जग्गा पनि रंगशालामा मिसाउने तयारी रहेको नगरप्रमुख शर्माले बताउनुभयो । रंगशाला सेवा केन्द्रसम्म फैलने भएकाले सेवा केन्द्रका केही भवन भत्काइने र रंगशाला बनाइने उहाँले बताउनुभयो ।

सेवा केन्द्रमा रहेका कार्यालय अन्यत्रै बनाउने योजना रहेको पनि शर्माको भनाई छ । रंगशाला निर्माणमा संघीय सरकारले चालु आर्थिक वर्षमा ५ करोड बजेट हालेको छ । हरेक वर्ष क्रमागत रुपमा बजेट आउने र रंगशाला निर्माण गरिने जनाइएको छ । रुकुम पश्चिम, सल्यान, जाजरकोट, डोल्पाको समेत क्षेत्रमा पर्ने चौरजहारीमा बन्ने रंगशालाको डिपिआर नेपाल सरकारको डोलिडार परियोजनाले गर्ने छ । डिपिआर बनेलगत्तै काम सुरु हुने बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update