चौरजहारी नगरपालिकाको एक विद्यालयमा आगलागी भएको छ । १२ नम्वर वडाको जनकल्याण माध्यामिक विद्यालय सानाखोलामा बुधबार बेलुकी आगलागी भएको हो । आगलागीबाट विद्यालयको साढे ३० लाख क्षेती भएको विद्यालयले जनाएको छ । विद्यालयमा जडान गरिएको सोलारको तार शर्ट भएर भएको आगलागीका कारण ३० लाख ५० हजार बढीको क्षेती भएको प्रधानाध्यापक झुपालाल शर्माले जानकारी दिनुभयो ।
आगलागीबाट स्टोर र कार्यालय रहेको भवनमा पूर्ण रुपमा क्षेती पुगेको छ । जस्ता पाताले छाएको उक्त भवनमा रहेको सम्पूर्ण फर्निचर, कागजात जलेका छन् भने सेनेटरी प्याड तथा अरु सामग्री पनि जलेर नष्ट भएका छन् । २४ सय वाटको सोलार सिस्टम पनि ध्वस्त भएको छ । विद्यालयमा रहेको कम्प्युटर, फोटोकपी मेशिन, प्रिन्टर पनि जलेको छ ।
विद्यालयबाट धुँवा आएपछि मात्रै विद्यालयमा आगलागी भएको पत्ता लागेको थियो । आगो सुरु भएको झण्डै एक घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो । स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी तथा अरु जुटेर विद्यालयमा लागेको आगो नियन्त्रणमा लिएका थिए । बुधबार आगलागी भएपनि विहीबार विहान मात्रै प्रहरीले क्षेतीको विवरण तयार पारी मुचुल्का उठाएको थियो ।