रुकुम पश्चिममा भोली फागुन १ गते विभिन्न कार्यक्रम गरेर २७ औं जनयुद्ध दिवस मनाईदै छ । स्थानीय सरकारले दिवसको अवसरमा सार्वजनिक विदा दिएका छन् भने नेकपा माओवादी केन्द्रले विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदै छ । नेकपा माओवादी केन्द्र मुसीकोट नगर समितिले दिवसको अवसरमा भोली विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बिहान ८ बजे मुसीकोट नगरपालिका १ खलंगामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन संगै चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको नगर सचिव शुशिल गौतमले जानकारी दिनुभयो ।
त्यसपछि मुसीकोट नगरपालिका ५ शेरिगाउँको सहिद प्रतिष्ठानमा रहेका सहिदका शालिक तथा फोटोमा माल्यार्पण र श्रदाञ्जली अर्पणको कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । वडा नम्बर १३ को मुग्लुखोलामा सहिद गेट उद्घाटनको कार्यक्रम पनि भोली नै रहेको छ । यसका साथै माओवादी केन्द्र मुसीकोटले विभिन्न ठाउँमा ब्यानर, पार्टीका झण्डा राख्नुका साथै शुभकामना आदान प्रदान कार्यक्रमहरु गर्ने नगर सचिव गौतमले बताउनुभयो । नेकपा माओवादी केन्द्र त्रिवेणि गाउँपालिकाले झुल्नेटामा जनयुद्ध दिवसको अवसरमा शुमकामना आदाप्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पालिका सहित सबै वडा समितिको सहभागिता रहने नेकपा माओवादी केन्द्र त्रिवेणिले जनाएको छ ।
बाँफिकोटमा सहिद परिवारलाई सम्मान
जिल्लाका अन्य पालिका समितिहरुले पनि जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जनाएका छन् । नेकपा माओवादी केन्द्र बाँफिकोटले सहिद परिवारलाई सम्मान गर्दै छन् । गाउँपालिकाको आर्थिक सहयोगमा ८७ सहिद परिवारलाई दोसल्ला सहित १/१ वटा गाग्रीले सम्मान गर्ने नेकपा माओवादी केन्द्रका बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । वडा नम्बर २ को सहिद पार्कमा सहिद सम्मान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
चौरजहारीमा प्रगतिशिल विवाह
नेकपा माओवादी केन्द्र चौरजहारीले पनि भोली जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकामा आयोजना गरिएको उक्त कार्यक्रममा प्रगतिशिल बिवाह पनि हुने भएको छ । पार्टीका नगर अध्यक्ष श्रीकृष्ण शर्माकी छोरीको दिवसको अवसर पारेर प्रगतिशिल विवाह हुन लागेको हो । छोरी सुमित्रा शर्माको जाजरकोट घर भई हाल बाँकेको कोहलपुरमा बस्दै आउनुभएका मनोज शर्मासंग प्रगतिशिल विवाह हुन लागेको नगर अध्यक्ष शर्माले बताउनुभयो ।
१० वर्षे जनयुद्ध सुरु भएको २०५२ फागुन १ गतेको सम्झनामा हरेक वर्षको फागुन १ गते विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।