Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगरपालिकाको ५६ कोठे कार्यालय भवन ठडियो
चौरजहारी नगरपालिकाको निर्माणाधिन कार्यालय भवन ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एक वर्ष अघि निर्माण थालिएको नगरपालिका भवन निर्माणको अन्तिम चरणको काम भइरहेको छ । ५ तलाको ५६ कोठे कार्यालय भवनको अन्तिम फिनिसिङको काम भइरहेको हो ।

२ नम्बर वडा स्थित विजयश्वरी डाँडामा पहिलाकै कार्यालय रहेकै ठाउँमा नगरपालिकाको भवन निर्माण भइरहेको हो । दुई वटा निर्माण कम्पनीले भवन निर्माणको काम गरेका छन् । सुरुको स्ट्रक्चर निर्माणको कार्य खड्का कृष्ण–नारायण जेभीले गरेको थियो । अब भवन निर्माणको अन्तिम काम एम कन्ट्रक्सनले गरिरहेको छ । खड्का कृष्ण– नारायण जेभीले २ करोड २५ लाखमा स्ट्रक्चरको काम गरेको थियो भने एम कन्ट्रक्सनले २ करोड ९० लाख रुपैयाँमा भवन निर्माणको अन्तिम काम गरिरहेको छ ।

एम कन्ट्रक्सनका प्रतिनिधि प्रविर डाँगीले वैशाख १ गते सोही भवनबाट कार्यालयको कामकाज हुने गरी काम गरिरहेको बताउनुभयो । भित्रको फिनिसिङ सकिएको, बाहिरको मात्रै बाँकी रहेको, झ्याल, ढोका र रंग रोगनको काम मात्रै रहेकाले समयमै काम सक्ने डाँगीले बताउनुभयो । नयाँ सहर आयोजनाले भवन निर्माणको ठेक्का लाएको थियो । झण्डै एक वर्षकै अवधिमा नगरपालिका भवन पूर्ण हुन लागेको हो ।

नयाँ वर्षदेखि नयाँ भवनबाट सेवा प्रवाह थाल्ने तयारी रहेको र त्यसरी नै कामकाज गर्न निर्माण कम्पनीलाई ताकेता गरिएको नगरप्रमुख विशाल शर्माले बताउनुभयो । नयाँ भवनमा कार्यपालिका बैठक बस्ने हल सहित नगर मातहतका सम्पूर्ण कार्यालय रहने नगप्रमुख शर्माले बताउनुभयो । सेवा प्रवाहलाई चुस्त, दुरुस्त र सहज बनाउनका लागि भवन निर्माण थालिएको र अब भवनले यसलाई सहज बनाउने शर्माले बताउनुभयो । नगरपालिकाका लागि नभइ नहुने महत्वपूर्ण काम मध्यको यो पनि एउटा काम भएको नगरप्रमुख शर्माले बताउनुभयो ।  
 

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update