रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ को धैरेनीचौरमा निर्माण भएको सव स्टेशनबाट भोली आईतबार देखि बिद्युत वितरण सुरु हुने भएको छ । स्टेसन ट्रान्सफर्मरको परीक्षण सफल भएपछि भोली देखि बिद्युत वितरणको तयारी गरिएको हो । नेपाल बिद्युत प्राधिकारणका रुकुम पश्चिम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्राईका अनुसार आज रातभरमा सव स्टेसन ट्रान्सफर्मर अर्थात मुख्य ट्रान्सफर्मर चार्ज हुने छ । उक्त ट्रान्सफर्मर चार्ज भएपछि भोली बिहान ८, ९ बजे तिरबाट बिद्युत वितरण सुरु गर्ने भट्राईले बताउनुभयो ।
‘लगभग सव स्टेसनको ९० प्रतिशत परीक्षण सफल भएको छ, अव आज रातभरमा मुख्य ट्रान्सफर्मर चार्ज सफल भयो भने भोली बिहान देखि बिद्युत वितरण सुरु हुन्छ, उहाँले भन्नुभयो ।’ सव स्टेशनमा आज बत्ति बलेको छ । अव जिल्लामा बिद्युत वितरणमा गुणस्तर कायम हुने विश्वास गरिएको छ । अहिले सम्म सल्यान र जाजरकोटमा रहेका सव स्टेशनबाट ल्याएको बिद्युत वितरण भइरहेको थियो । लामो दुरीबाट बिद्युत आपुर्ति गर्नुपर्दा सेवा भरपर्दो थिएन् । जसका कारण जिल्लावासीले गुणस्तरीय बिद्युत सेवा पाउन सकेका छैनन् ।
अव भने बिद्युत सेवामा सुधार आउने विश्वास गरिएको छ । करिब साढे ८ करोडको लगानीमा धैरेनीचौरमा ३ एम.भि.ए.(३३/११ के.भि) क्षमताको सव स्टेशन निर्माण गरिएको छ । उक्त सव स्टेशनमा अव सल्यान हुँदै ३३ केभि क्षमताको प्रसारण लाईन आउने प्रमुख भट्राईले बताउनुभयो । उहाँका अनुसार त्यसपछि सव स्टेशनबाट ११ केभिको लाईन वितरण हुने छ ।