Kakhara सबैको खबर सम्पूर्ण खबर
यसरी कब्जा भएको थियो राडी प्रहरी चौकी

सत्ताइस वर्ष अघि, २०५२ माघ २९ गते सोमबार दिनभर रुकुमको दुली–१, अर्थात हालको सानीभेरी गाउँपालिका ५, स्थित साँरदुलामा रहेको एउटा घरको तल्लो कोठामा दिनभर एउटा योजना बनाइयो । जुन योजना सफल बनाउनै पथ्र्यो । जसलाई नेपाली क्रान्तिको एउटा सुरुवातको रुपमा अथ्र्याइएको थियो । तत्कालिन नेकपा–माओवादीले घोषणा गरेको जनयुद्धको पहिलो कारवाहीका निम्ती साँरदुलामा दुई दर्जन मानिस जम्मा भएका थिए । आठबीसकोटको  राडीबजारको ठूलीभेरी किनारैमा रहेको इलाका प्रहरी चौकी कब्जाका अनेकन विषयमा छलफल भएको थियो त्यहाँ ।

जनयुद्ध घोषणा पछिको पहिलो कारबाहीको निशानामा थिए रुकुमको आठबीसकोटको राडी प्रहरी चौकी, रोल्पाको होलेरी र सिन्धुली जिल्लाको सिन्धुलीगढी प्रहरी चौकी । यी तीन प्रहरी चौकी मध्य इलाका प्रहरी कार्यालय आठबीसकोट कब्जाको सबै तयारी साँरदुलाको एउटा घरको तल्लो तलामा भएको थियो । आठबीवसकोट इलाका प्रहरी कार्यालय आक्रमणको राजनीतिक कमाण्डर थिए हेमन्तप्रकाश ओली सुदर्शन र फिल्ड कमाण्डर थिए गणेशमान पुन रश्मी । जतिबेला पुन २२ वर्षका मात्रै थिए ।

आठबीसकोट इप्रका आक्रमणमा जाने केही बाहेक अधिकांसलाई साँरदुला पुगेपछि मात्रै हामी प्रहरी आक्रमणमा जादै छौं भन्ने कुरा थाहा भएको थियो । साँरदुलाको प्रशिक्षणले कुनै तालिम विनै प्रहरी चौकी आाक्रमण गर्ने मानसिकता सबैमा खडा गरिदिएको थियो । आक्रमण गर्ने टोलीका सदस्यलाई प्रशिक्षण बाहेक अन्य तालिमको व्यवस्था केही थिएन । एक दिनभरको प्रशिक्षणको भरमा इलाका प्रहरी चौकी कब्जा गरेर छाड्ने अठोट उनिहरुमा  जाग्यो । 

माघ २९ गते दिनभर सोही घरको तल्लो तलामा इलाका प्रहरी कार्यालय कब्जाको तयारी, आवश्यक बन्दो वस्त, म्याप अध्ययन, इप्रकामा सम्भावित जनशक्ति लगायतका विषयमा सुदर्शन र रश्मीले प्रशिक्षण दिए । दिनभरको प्रशिक्षणपछि फिल्ड कमाण्डर गणेशमान पुनको नेतृत्वमा इलाका प्रहरी कार्यालय आठबीसकोट आक्रमणका लागि माओवादीका लडाकुहरु साँरदुलाबाट अघि बढे । साँरदुलाबाट आठबीसडाँडागाउँ गाविसमा पुगेर बेलुकीको खानापछि अघि बढेका उनिहरुले राती ११ बजे इप्रका आक्रमणका निम्ती राडी पुगे । निर्धारित समयमै आ–आफ्नो आर्क समालेर आक्रमणको सुरुवात गरे ।

हाते माइक मार्फत कमाण्डर गणेशमान पुनले प्रहरीलाई आत्मसमर्पनका निम्ति आह्वान गरे । काशनसँगै अन्य पनि आ–आफ्नो आर्कबाट प्राप्त निर्देशन बमोजिम अघि बढे । करिव दुई घन्टापछि इप्रका पूरै कब्जा भयो । त्यहाँ रहेका सम्पूर्ण बन्दोवस्तीका सामान पनि उनिहरुले कब्जामा लिए । प्रहरीलाई सम्झाई बुझाई गरी जनयुद्ध जिन्दाबाद जस्ता नारा लगाउँदै माओवादीहरु आफ्नो सेल्टरतिर हिँडे । माघ २९ गते राति ११ बजे चौकी आक्रमणको निम्ती राडी पुगेका उनीहरु फागुन १ गते विहान ३ बजे सफल भएर फर्किए ।

के हतियार प्रयोग भए त ?
घंगारुको लट्ठीले युद्ध सुरु गरेको भनेर माओवादीभित्र र बाहिर व्यापक प्रचार भयो । जनयुद्धको थालनीको पहिलो आक्रमण मध्यको एक आठबीसकोट इलाका प्रहरी कार्यालय आक्रमणमा घंगारुको लट्ठी, घरेलु हतियार सावेल, गैंटी, बेल्चा, घन, सहित केही थान बार बोर बन्दुक, केही थान भरुवा बन्दुकको साथै एउटा होल टाइमर राइफल पनि लिइएको थियो ।

सेक्टर काण्डबाट कब्जा भएको होल टाइमर राइफल आठबीसकोट इलाका प्रहरी चौकी आक्रमणको क्रममा प्रयोग भएको थियो । २०४३ सालमा भएको सेक्टर काण्डबाट कब्जा भएको राइफललाई होल टाइमर राइफल भनिन्थ्यो । तत्कालिन जनमोर्चाका महामन्त्री मोहन वैद्यले काठमान्डौंको एउटा प्रहरी चौकीबाट सो राइफल कब्जा गरेका थिए । सो राइफलले एक पटकमा एउटा मात्रै फायर गर्दथ्यो । यद्यपी त्यो जनयुद्धको पहिलो लडाईमा कुनै पनि हतियार फाएर भएन । 

मानिसको हताहती भएन 
जनयुद्ध थालनीको पहिलो आक्रमणमा कसैको हताहती भएन । माओवादीहरुको योजना पनि प्रहरीको हत्या गर्नु नभै चौकी कब्जा गर्नु र उनिहरुलाई सम्झाउनु मात्रै थियो । त्यसैले उनिहरुले गोली चलाएनन् । गोली नचलाएरै चौकी कब्जा भयो । यहाँ सम्मकी दुवैतर्फ कसैलाई पनि सामान्य चोटपटक बाहेक अरु केही भएन । आक्रमणको क्रममा माओवादीले पनि गोली चलाएनन् भने प्रहरीको तर्फबाट पनि गोली चलेन । 

इप्रकाबाट के कब्जा भयो 
सोचे जस्तो इप्रकाबाट हात हतियार कब्जा हुन सकेन । हतियार बाहेक थ्री नट थ्री राइफलको गोली, डाइनामाइट, फ्यूल वायर, अन्य बन्दोवस्तीका सामाग्रीहरु माओवादीले  कब्जामा लिए । इप्रकामा भएको दुई वटा हतियार थ्री नट थ्री राइफल आठबीसकोट भन्दा बाहिर सदरमुकाम खलंगा लिइएको कारण ति हतियार कब्जामा लिन सकिएन ।

प्रहरी कर्मचारीको तलव बुझ्न सदरमुकाम पुगेका प्रहरीले हतियार पनि सँगै सदरमुकाम ल्याएपछि चौकी हतियार विहिन बनेको रहेछ । इलाका प्रहरी चौकीमा भने जति जनशक्ति पनि रहेनछ । कम्तिमा दुई दर्जन प्रहरी भएको अनुमानमा आक्रमणको तयारी पनि त्यसरी नै भएको थियो । करिव एक दर्जन प्रहरी मात्रै आक्रमणको क्रममा फेला परेका थिए । प्रहरी चौकीमा भएको विभिन्न निवेदन मुद्धामामिलाका कागजात पनि आक्रमणको क्रममा नष्ट गरिएको थियो । 

आक्रमणमा कति माओवादी थिए 
इलाका प्रहरी चौकी आठबीसकोट आक्रमण गर्न रुकुमका मात्रै माओवादी गएका थिएनन् । रुकुमका २३ जना, डोल्पा र जाजरकोटका अन्य गरी करिव ३४ जना माओवादी चौकी आक्रमणमा संलग्न भएका थिए । चौकीको नजिकै रहेको  जाजरकोट र पायक पर्ने डोल्पा जिल्लाबाट पनि केही माओवादी चौकी आक्रमणमा सघाउन पुगेका थिए । तर आक्रमणको सारा कमाण्ड भने रुकुमले मात्रै गरेको थियो । हात हतियार बोक्नेदेखि आक्रमणको बेला बनाइएको विभिन्न समुहको कमाण्डर पनि रुकुमकै थिए । 

आक्रमण सफल बनाउन विभिन्न समूह
सफल आक्रमणको निम्ती विभिन्न समुह विभाजन गरिएको थियो । जनयुद्धको पहिलो आक्रमण कुनै कारणवस हारीयो भने जनयुद्धको आगामि बाटो असहज पनि बन्न सक्ने भय कायमै थियो । त्यसैले पनि आक्रमण सफल बनाउन विभिन्न समुह निर्माण गरिएको थियो । विशेष गरी समुहले पाएको आफ्नो जिम्मेवारी पूरा गर्नैपर्ने थियो । रुकुम मुरुका दौलतराम घर्ती विजय घले जो २०५३ मंसिर ३ गते डोल्पाको त्रिवेणि प्रहरी चौकी कब्जा गर्ने क्रममा शहीद भए ।

उनले आक्रमण समुहको कमान्डिङ गरेका थिए । उनको समुहको मुख्य जिम्मेवारी चौकीमा रहेको स्टोर कब्जा गरेर हतियार कब्जा गर्नु थियो । रिजर्भ समुहका कमाण्डर थिए महेश्वर गहतराज अथक उनको समुहले युद्ध सामग्री सकिएको खण्डमा थप मद्दत गर्ने जिम्मिेवारी पाएको थियो । यज्ञश्वर शर्मा बारुणलाई एसल्ट ग्रुपको कमाण्डर बनाइएको थियो भने मेघबहादुर श्रेष्ठ महेश स्टकीङ समुहका कमान्डर थिए । 

अन्त्यमा के भयो 
इलाका प्रहरी चौकी आक्रमणको सबै तयारी पूरा भएपछि राजनीतिक कमिसार हेमन्तप्रकाश ओली सुदर्शन, पूर्ण घर्ती अभ्यास सहितको टोली चौकीबाट कब्जा भएको सामग्री व्यवस्थापन गर्ने ठाउँ व्यवस्थापनका लागि दुलीबाट मग्मा, बाँफीकोट हुँदै पीपल गाविस गएको थियो भने फिल्ड कमाण्डर गणेशमान पुन रश्मी नेतृत्वको टोली आठबीसकोट इलाका प्रहरी चौकी आक्रमणका लागि त्यसतर्फ गएको थियो । इलाका प्रहरी चौकी आक्रमण भैसकेपछि डोल्पा र जाजरकोटको टोली उतैबाट आ–आफ्नो जिल्लाकै कार्यक्षेत्रमा फक्र्यो भने त्यहाँबाट कब्जामा लिइएको सामग्री सहितको रुकुमको टोली मग्माको धब्लीवाङमा फागुन १ गते विहानको खाना खान पुग्यो ।

विहानको खाना खाएर पीपल गाविसको पुगेको टोलीले आठबीसकोट इलाका प्रहरीबाट कब्जामा लिएका सामग्री पीपल गाविसको विभिन्न ठाउँमा राख्यो । त्यसपछि थालनीको निरन्तरता भन्दै सो टोली लडाकु दलको तालिममा सहभागि भयो । सो टोलीका कमाण्डर बाहेक अन्य सदस्यलाई दौलतराम घर्ती विजय घले, कलबहादुर नाथ महान लगायतले तालिम दिएका थिए । त्यो भन्दा पहिलो कमाण्डर बाहेकका सदस्यले कुनै तालिम लिएका थिएनन् ।

इलाका प्रहरी चौकी आठबीसकोट आक्रमणमा सहभागि पहलसिङ घर्ती मगर ज्वलन्तसँगको कुराकानिको सारसंक्षेप । ज्वलन्त समग्र टीम अन्तर्गतको आक्रमण समुहको सदस्य थिए । -सम्पादक ।

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update