नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षले रुकुम पश्चिममा बृहत कार्यकर्ता भेला गरेको छ । नेकपा फुटेपछि यो समूहले पहिलो पटक औपचारीक र सार्वजनिक कार्यक्रम गरेको हो । सदरमुकाम खलंगा बजार परिक्रमा गरी बाल मिन्दर प्राङ्गनमा पुगेर कार्यकर्ता भेला भएको थियो । केपी ओलीको समर्थनमा नाराबाजी गर्दै नेता कार्यकर्ताहरु जुलुसमा सहभागि भएका थिए । कार्यक्रमलाई केन्द्रीय सदस्य महेश बस्नेत, नन्दराम देवकोटाले सम्बोधन गर्नुभएको थियो । तिर्था गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शशिराम परियारले गर्नुभएको थियो भने स्वागत मन्तव्य नारायणकुमार शाहले राख्नुभएको थियो ।
संसद विघटन स्वागतयोग्य छः बस्नेत
भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदम असंवैधानिक नभएको दावी गर्नुभयो । प्रधानमन्त्रीको पछिल्लो कदम स्वागतयोग्य भएको भनाई बस्नेतको छ । प्रधानमन्त्रीको कदमको देशव्यापी स्वागत भइरहेकाले स्वागत कार्यक्रम रुकुम पश्चिम थपिएकोमा खुसी व्यक्त गर्नुभयो । जनतामा जाने, ताजा जनादेश ल्याउने गरी गरिएको कदमलाई असंवैधानिक बन्न नमिल्ने तर्क नेता बस्नेतको छ । ५ वर्षमा आयु सकिने संसद ३ वर्ष अघि नै विघटन गरेर ताजा जनादेशमा जानु तत्कालको आवश्यक्ता देखिएकाले प्रधानमन्त्री जनताकोमा गएको बस्नेतले बताउनुभयो ।
हलमा गर्ने कार्यक्रम बाहिर
पहिलो पटक रुकुम पश्चिममा खुला कार्यक्रम गरेको नेकपाको ओली समूहको तयारी बाल मन्दिर हलमा कार्यक्रम गर्ने तयारी थियो । मन्चदेखि अरु व्यवस्थापन हल भित्रै भइसकेको थियो । तर अन्त्यमा बाल मन्दिर प्राङ्गनमा कार्यक्रम भयो । हलभित्र कार्यक्रम हुँदैछ भन्ने थाहा पाएपछि प्रमुख अतिथि महेश बस्नेतले नै कार्यक्रम बाहिर गर्नुपर्ने भनेपछि कार्यकर्ताले हतार हतार बाहिर व्यवस्थापन गरेका थिए । सहभागिता जति भएपनि जनतालाई कुरा सुनाउने भन्दै बस्नतेले खुला रुपमै कार्यक्रम गर्ने र त्यसको व्यवस्थापन गर्न जिल्ला स्थित नेताहरुलाई भनेका थिए ।
२६ मध्य एक पदाधिकारी मात्रै
नफुट्दैको नेकपामा २६ जना पदाधिकारी थिए । एक अध्यक्ष र एक सचिव गरी २ जना जिल्लाका तथा ६ स्थानीय तहका २४ जना अध्यक्ष र सचिव थिए । त्यसमध्यमा १ जना पदाधीकारी मात्रै केपी ओली पक्षमा देखिएका छन् । सानीभेरी गाउँपालिका सचिव मनबीर घर्ती मात्रै ओलीको पक्षमा खुलेका हुन् । जिल्ला अध्यक्ष र सचिव सहित २५ जना भने प्रचण्ड– माधव नेपालको समूहमा लागिसकेका छन् । जिल्ला इन्चार्ज राजकुमार शर्मा, सह इन्चार्ज शेरबहादुर केसी र बसन्तकुमार शर्मा पनि प्रचण्ड–माधव नेपाल समूहमै लागेका छन् । जिल्लाको समग्र नेतृत्व प्रचण्ड माधव नेपाल समूहतिर लागेपछि केपी ओली पक्षले तिर्था गौतम, नन्दराम देवकोटा, विद्यापती रिजाल र नारायणकुमार शाहलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।