रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सांग्रिला डेप्लेमेन्ट बैंकको शाखा स्थापना भएको छ । २ नम्बर वडामा बैंकको १ सय ८ औं शाखाको रुपमा चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले उद्घाटन गर्नुभएको हो । सोमबार औपचारीक कार्यक्रमको आयोजना गरी बैंकको शाखा उद्घाटन गरिएको हो ।
बैंक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख विशाल शर्माले चौरजहारीलाई कार्यक्षेत्र बनाएर स्थापना भएको बैंकले नगरबासीलाई सहज हुने बताउनुभयो । नगरको विकास र समृद्धिको विकासमा सहायता पुग्ने गरी बैंक स्थापना भएको र यसबाट नगरबासीले चाहिएको सुविधा लिनुपर्ने बताउनुभयो । बैंक तथा वित्तिय संस्था बढ्नाले नगरबासीमा वित्तिय साक्षरता बढ्ने विश्वास नगरप्रमुख शर्माको छ ।
उद्घाटन भएसँगै बैंकले नियमित सेवा सुरु गरेको छ । बचत, कर्जा प्रवाह, रेमिट्यान्स लगायतका सेवा दिन सुरु गरिएको बैंकले जनाएको छ । शाखा प्रबन्धक जयन्द्रबहादुर खड्काले बैंकले नियमित सेवा सुरु गरिसकेको जानकारी दिनुभयो । यो सहित चौरजहारीमा बैंकको संख्या ४ पुगेको छ । यस अघि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र लक्ष्मी बैंकले सेवा प्रवाह गरिरहेका छन् ।