रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर ९ लाई जग्गा प्राप्त भएको छ । स्थानीय समाजसेवि नरेन्द्रकुमार चन्द र हरिप्रकाश ओलीले वडाको भवन निर्माणका लागि जग्गा दिनुभएको हो । चौरहाजरी–मुसीकोट सडकमा सटेको २० मिटर लम्बाई र २० मिटर चौडाई भएको जग्गा दिनुभएको हो ।
करिब १५ देखि २० लाख पर्ने जग्गा चन्द र ओलीले निःशुल्क रुपमा वडा कार्यालयलाई उपलब्ध गराएको त्रिवेणि गाउँपालिका वडा नम्बर ९ ले जनाएको छ । वडाको नाममा जग्गा पास दिन भने बाँकी रहेको छ । केही दिनमा प्रक्रिया पुरा गरेर जग्गा पास लिने वडाध्यक्ष बिरबहादुर डाँगीले बताउनुभयो । अहिले चौतारामा रहेको एक घर भाडामा लिएर वडा कार्यालय संचालनमा छ ।
हाल वडा कार्यालय रहेको नजिकै जग्गा प्राप्त भएको र छिट्टै निर्माण कार्य सुरु गर्ने वडाध्यक्ष डाँगीले बताउनुभयो । बैशाख १ गतेसम्ममा निर्माण सक्ने गरी भवन निर्माणको काम सुरु गर्ने वडाले जनाएको छ ।