Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा ओली समूहको जिल्ला संयोजनकर्तामा ओली

नेकपा ओली समूह रुकुम पश्चिमले सांगठनिक संरचना निर्माण गरेको छ । जिल्ला भेला गरेर यो समूहले पार्टीको जिल्ला कमिटि तथा दुई वटा भातृ संगठनका पदाधिकारी टुंग्याएको हो । नेकपा फुटेर अधिकांश पदाधिकारी र जनवर्गिय संगठनका पदाधिकारी प्रचण्ड–माधव नेपाल समूहमा लागेपछि ओली समूहले सबै संरचना नयाँ बनाउनु परेको हो ।

पार्टीको जिल्ला भेलाले टंकप्रसाद ओलीलाई पार्टीको जिल्ला संयोजनकर्ता तोकेको छ । अरु पदाधिकारी र जिल्ला कमिटिको विषयमा छलफल भइरहेको बताइएको छ । अध्यक्ष को हुने सचिव को हुने कति सदस्यीय जिल्ला कमिटि हुने भन्ने छलफल भइरहेको बताइएको छ । संयोजनकर्ता ओली यस अघिको जिल्ला कमिटि सदस्य हुनुहुन्थ्यो भने उहाँ चौरजहारी नगरपालिका–१३, को वडाध्यक्ष पनि हुनुहुन्छ ।

पार्टीले युवा संघ र अनुरास्ववियू पनि गठन गरेको छ । युवा संघको जिल्ला संयोजकमा हरिबोल भारतीलाई तोकेको पार्टीले लालबहादुर अधिकारीलाई सहसंयोजक बनाएको छ । ६१ सदस्यीय जिल्ला कमिटि विस्तारको क्रममा हुने जनाइएको छ । अनेरास्वयूको संयोजकमा प्रकाश खड्का तोकिनुभएको छ भने सह संयोजकमा प्रताप धिताललाई तोकिएको अनेरास्ववियूका केन्द्रीय सदस्य ओमप्रकाश आचार्यले जानकारी दिनुभयो । अनेरास्वयवियू ५१ सदस्यीय हुने आचार्यले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update