Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ५८ वटा विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रुकुम पश्चिमका ५८ वटा विद्यालय छनौट भएका छन् । विद्यालयको भौतिक सुधार र सूचना प्रविधिसंग जोडिएको यो कार्यक्रम अन्तरगत जिल्लाका ६ स्थानीय तहका ५८ वटा विद्यालयलाई सहयोग आउने भएको हो । 

यस कार्यक्रम अन्तरगत ४ कोठे र २ कोठे भवन निर्माण तथा सूचना प्रविधि प्रयोगशाला (आईसीटी ल्याब) स्थापनाका लागि बजेट आउने छ । ४ कोठे भवनका लागि प्रति विद्यालय ३६ लाख, २ कोठे भवनका लागि १८ लाख र आईसीटी ल्याब स्थापनाका लागि ६ लाख ५० हजार बजेट आउने शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । 

यो कार्यक्रमका लागि जिल्लामा सबैभन्दा बढी मुसीकोट नगरपालिकाका १६ वटा र सबैभन्दा कम त्रिवेणि गाउँपालिकाका ५ वटा विद्यालय छनौटमा परेका छन् । त्यस्तै चौरजहारी नगरपालिकाका ८ वटा, आठबीसकोट नगरपालिकाका ११ वटा, सानीभेरी गाउँपालिकाका १२ वटा र बाँफिकोट गाउँपालिकाका ६ वटा विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु हुदै छ । 

जिल्लाबाट भएको सिफारिसका आधारमा विद्यालयहरु छनौटमा परेका हुन् । यो कार्यक्रमले शैक्षिक गुणस्तर सुधारमा टेवा पुगिरहेको स्थानीय तहहरुको भनाई छ । टिनका छानामुक्त विद्यालयको अभियानमा रहेको चौरजहारी नगरपालिकाले यस कार्यक्रमले नगर सरकारलाई मद्त पुगेको बताएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update