दुई दिन यता सामाजिक सञ्जाल र केही समाचार पोर्टलहरुमा एउटा फोटो र त्यससँग सम्बन्धित घटना भाइरल भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ११, मा भएको घटनाको वास्तविकता भने अर्कै रहेको खुलेको छ । एक जना प्रहरीले एक जना बृद्धलाई बोकेका छन् । अर्को एक जना प्रहरी पछिपछि हिडेको फोटो र त्यो सँग सम्बन्धित समाचार भाइरल भएको छ ।
सामाजिक सञ्जाल र समाचार पोर्टलहरुमा एक जना प्रहरीले विरामी वृद्धलाई अस्पताल पुर्याएको भनेर उल्लेख गरिएको छ । तर ति वृद्धलाई प्रहरीले अस्पताल नभइ बजार पुर्याएका हुन् । सोही वडाको टाटा घर भएका १०१ वर्षिय वृद्ध जगविर ओली घुम्नका लागि सोही वडाको चौफा बजार जान भनी हिड्नुभएकाे थियाे । बाटोमै आराम गरिरहेका उनलाई प्रहरी जवानले बजारसम्म पुर्यादिन्छन् । ति प्रहरी जवान वृद्ध जगविरकै घरमा डेरा गरेर बस्ने प्रहरी हुन् ।
केही समय बजार घुमेपछि चौफा बजारबाट वृद्ध जगिर आफै हिडेर टाटा स्थित घरमा पुग्नुहुन्छ । वास्तविकता यही थियो । तर प्रहरीले वृद्ध बोकेको यो फोटो वडा नम्बर ११ का अध्यक्ष मनमोहन शाहले खिचेको बताइएको छ । फोटो खिचेर शाहले विरामी वृद्धलाई नगर अस्पताल लगिँदै भनेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि सबैले त्यही भावमा समाचार प्रकाशन, प्रशारण भएका छन् ।
घर परिवारका अनुसार जगविर विरामी हुनुहुन्न । उहाँका नाति विपी ओलीले बाजे कुनै विरामी नभएको भन्दै बाजेलाई बाटोबाट बजारसम्म पुर्याइदिने प्रहरीलाई धन्यवाद दिनुभयो । प्रहरी जवानले राष्ट्र सेवा गर्ने क्रममा बाजेलाई पनि सहयोग गरेको उहाँले बताउनुभयो । तर समाचारहरुमा विरामी छटपटाइ रहेको, परिवारले वास्ता नगरेको भनेर गरिएको प्रचार,प्रसारप्रति उहाँले दुःख व्यक्त गर्नुभएको छ ।
‘हाम्रै घरमा दुई जना स्वास्थ्यकर्मी छौं,’ एक जना एच.ए. र एक जना स्टाफ नर्स ओलीले भन्नुभयो ‘सामान्य विरामी हुँदा पनि अस्पताल पुर्याउनुपर्ने अवस्था छैन खास कुरा नबुझेर गरेको प्रचारले हाम्रो मानमर्दन भएको छ ।’ कुनै पनि घटना वास्तविकता नबुझेर सस्तो लोकप्रियताका लागि गरिने प्रचारले हानी पुर्याउने भन्दै उहाँले यसतर्फ सरोकारवालाको गम्भिर ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँका नाति विपी ओलीले लेखेको स्टाटस ।