रुकुम पश्चिमका वडा वडामा राष्ट्रिय परिचयपत्रको दर्ता अभियान सञ्चालन हुने भएको छ । नागरिकता लिएका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउने सरकारको उद्देश्य अनुरुप जिल्लाका सबै वडामा २÷२ वटा स्टेशन स्थापना गरेर दर्ता गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालयको सह आयोजना राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय बैठकले परिचयपत्रको दर्ताका लागि अभियान चलाउने निर्णय गरेको हो । जिल्ला स्थित अभियानका संयोजक तथा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा एकै पटक यो अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।
मुसीकोट नगरका १४ वडाका २८ र बाँफिकोट गाउँपालिकाका १० वडाका २० ठाउँमा परिचयपत्र वितरणको दर्ता स्टेशन स्थापना गरिने छ । दर्ता स्टेशनबाट नागरिकता लिइसकेका सबै नागरिकको परिचयपत्रको विवरण संकलन गर्ने र नागरिकलाई परिचयपत्र नम्बर प्रदान गर्ने अभियान रहेको प्रजिअ घिमिरेले बताउनुभयो ।
यही फागुन १५ भित्रै दुवै पालिकामा यो अभियान सञ्चालन हुने र क्रमश अरु जिल्लामा पनि अभियान सञ्चालन गरिने प्रजिअ घिमिरेले बताउनुभयो । त्यसका लागि दर्ता कर्मचारी र आवश्यक सरसामग्री आउन बाँकी छ । ति सामग्री र कर्मचारी आएपछि अभियान सञ्चालन गर्ने जनाइएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले हरेक कामकाजलाई छिटो र सजिलो बनाउन सरकारले राष्ट्रिय पचिरयपत्र बनाउने अवधारणा अघि ल्याएको बताउनुभयो । राष्ट्रिय परिचयपत्र बनाएपछि व्यक्तिगत र देशलाई समेत फाइदा पुग्ने भनाई उहाँको छ ।
हाल जिल्लामा जिल्ला प्रशासन कार्यालयमा मात्रै राष्ट्रिय परिचयपत्रको दर्ता गर्ने गरिएको छ । नागरिकता बनाउन वा राहदान बनाउन आएकालाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयमा दर्ता स्टेशन स्थापना गरी कामकाज चलाइएको छ ।