मध्यपहाडि लोकमार्ग अन्तरगत रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर १ को रिसाङ देखि रुकुम पूर्व–बाग्लुङ सिमा क्षेत्र पातिहाल्नासम्मको खण्ड माघ २१ गतेदेखि अवरुद्ध छ । जिल्लामा दोस्रो पटक माघ २० गतेदेखि सुरु भएको हिमपातका कारण अवरुद्ध लोकमार्ग अझैसम्म पनि सुचारु हुन सकेको छैन् । झण्डै १० किलोमिटर दुरीमा १ मिटरभन्दा बाक्लो हिउँ परेपछि लोकमार्ग २ साता भन्दा लामो समय देखि अवरुद्ध छ । राष्ट्रिय गौरवको आयोजना नै हिउँका कारण २ साता भन्दा बढी बन्द हुँदा यात्रुहरु मारमा परेका छन् ।
रुकुम पूर्व, रोल्पा ताथ रुकुम पश्चिम सम्मका यात्रुहरु बाग्लुङ हुँदै संघीय राजधानी काठमाडौं तथा देशका विभिन्न जिल्लामा जानुपर्ने यात्रुहरु लोकमार्ग अवरुद्ध भएका कारण समस्यामा परेका हुन् । यो बाटो भएर काठमाडौं सहित अन्य ठाउँमा जान छोटो पर्छ । तर हाल भने रुकुम पूर्व र रोल्पाका नागरिकहरु लामो दुरी पार गरेर रुकुम पश्चिम हुँदै यात्रा गर्न बाध्य छन् । राष्ट्रिय लोकमार्ग नै यसरी बन्द हुँदापनि सरोकारवाला भने लामो समय मौन बसे ।
कतैबाट केही नलागेपछि भूमे गाउँपालिका अहिले लोकमार्ग खोल्न कस्सिएको छ । गाउँपालिका अध्यक्ष रामसुर बुढा आफैं हिउँ पन्छाउन खटिनु भएको छ । लोकमार्ग निर्माणको जिम्मा पाएको सिद्धिसाई कन्ट्रक्सनलाई निरन्तर ताकेता गरेर अहिले हिउँ हटाउने काम भइरहेको गाउँपालिका अध्यक्ष बुढाले बताउनुभयो । ठेकेदार कम्पनीले इन्धन नभएको बताएपछि इन्धनको व्यवस्था गाउँपालिकाले गरेको उहाँले बताउनुभयो ।
‘भन्ने बेला राष्ट्रिय गौरवको आयोजना भन्ने तर अवस्था हेर्दा लाजमर्दो, हिउँ हटाउन कसैले वास्ता नगरेपछि आफैं कस्सिनुपरेको हो उहाँले भन्नुहुन्छ ।’ तलमाथि केही भएन भने शुक्रबारसम्ममा लोकमार्ग खुल्ने बुढाको विश्वास छ । संघीय सरकारको क्षेत्राधिकारको विषय भएपनि आफुहरु जनताको दुःख टुलुटुलु हेरेर बस्न नसकेको उहाँले बताउनुभयो ।
एकछिन पनि बन्द नहुने व्यवस्था हुनुपर्छ
यो खण्डमा हिउँ तगारो बन्छ । हिउँदयाममा बाक्लो हिउँ पर्ने भएकोले लामो समय यातायातका साधन बन्द हुन्छन् । तर अव भने त्यसो हुन नहुने जिल्लावासीको माग छ । पहिला धेरै गाडि नचल्ने र लोकमार्ग निर्माणको चरणमा रहेकोले खासै असर नपरेको भएपनि अव भने लोकमार्ग बाह्रै महिना नियमित चल्नुपर्ने जिल्लावासी बताउँछन् । गाउँपालिका अध्यक्ष बुढा पनि हिउँकै कारण यातायात रोकिन नहुने बताउनुहुन्छ ।
‘कसरी हुन्छ के व्यवस्था गरेर हुन्छ संघीय सरकारले बाह्रै महिना चल्ने व्यवस्था गर्नुपर्छ उहाँ भन्नुहुन्छ, यसमा थप सहयोग गर्न स्थानीय सरकार तयार छ ।’ रुकुम पूर्व हिमाली जिल्ला हो । यहाँका ३१ मध्ये लगभग सबै वडामा हिमपात हुन्छ । हिपातका कारण वर्षेनी जनजीवन प्रभावित हुने गरेको छ । यो मात्र नभइ अन्य राष्ट्रिय तथा स्थानीय सडकहरु पनि हिउँकै कारण बाह्रै महिना संचालन गर्न सकिने अवस्था छैन् ।
फाेटाे: भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढाकाे फेसबुकबाट ।