नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तर्गत बाँफिकोट गाउँपालिकाले पछिल्लो जनभेटघाट, छलफल, अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ । पालिकाको तेस्रो बैठकको निर्णय अनुसार गाउँपालिकाका दश वटै वडाका विभिन्न टोल, वस्ति तथा गाउँहरुमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।
पार्टीका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीले गाउँपालिकाका झण्डै १५ बढी ठाउँमा छलफल, अन्तरक्रिया तथा भेटघाटका कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो । जनताका गुनासा, भए गरेका विकास निर्माण, समस्या लगायतका विषयमा गाउँ गाउँ पुगिएको अध्यक्ष केसीले बताउनुभयो ।
यस क्रममा पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकका साथै अन्य दलका नेता, कार्यकर्तासित पनि छलफल गरिएको अध्यक्ष केसीले बताउनुभयो । २ नम्बर वडाको लामाचौर, थारकाट्टे र कुनाखेत, ४ नम्बर वडाको लोछावाङ, ५ नम्बर वडाको काँडामा कार्यक्रम सम्पन्न भएको छ ।
६ नम्बर वडाको जिपसिङ, ७ नम्बर वडाको गोरेकाँडा, बाँस्थला, दुवानाथ र दोभानचौर, ८ नम्बरको मैनेरी, ९ नम्बर वडाको स्यालामा कार्यक्रम सम्पन्न भएको छ । १० नम्बर वडाको सेजे र ठाँटीमा कार्यक्रम गरिएको छ । जनयुद्धको आधार क्षेत्र, स्वेत क्षेत्र र जान,पुग्न बाँकी क्षेत्रमा गएर पार्टीले कार्यक्रम गर्ने निर्णय गरेर अनुसार कार्यक्रम सम्पन्न भएको छ । जनभेटघाट, छलफल र अन्तरक्रियाबाट हौसला, सल्लाह र सुझाव प्राप्त भएको र त्यसैबाट अघि बढ्ने अध्यक्ष केसीले बताउनुभयो ।
ठाउँ अनुसार अरु पार्टीसँग अन्तरक्रिया, जनभेटघाट तथा छलफल गरिएको थियो । अब सहिद सप्ताहको अवसरमा हरेक वडामा पार्टीका जनसभा गर्ने, जनवर्गिय संगठनका नियमित कार्यक्रम, जनभेटघाटका कार्यक्रम तय गरिएको अध्यक्ष केसीले बताउनुभयो । यी कार्यक्रममा माओवादी केन्द्रका नेताहरु महेन्द्र केसी, धर्मबहादुर केसी, चन्द्रबहादुर शाही, मनबहादुुर वादी लगायतको पनि सहभागिता रहेको थियो ।