Kakhara सबैको खबर सम्पूर्ण खबर
एघार दिनपछि आफै उडेर गयो खैरो गिद्ध
डिभिजन वन कार्यालयको वन्यजन्तु उद्दार केन्द्रमा उपचार भइरहेका बेलाको खैरो गिद्ध ।

घाइते अवस्थामा भेटिएर डिभिजन वन कार्यालय रुकुम पश्चिममा उपचार गरिएको गिद्ध निको भएको छ । वन कार्यालयले ११ दिन उपचार गरेर गिद्धको बास स्थानमा छाड्ने तयारी गरेकै बेला गिद्ध आफै उडेर गएको हो । रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका १, रुँघामा घाइते अवस्थामा भेटिएको लोपोन्मुख यो गिद्धको उद्दार गरी वन कार्यालयले पशु अस्पतालमा उपचार गराएको थियो ।

गिद्ध पूर्ण ठिक भएपछि उसको बास स्थानमा छाड्ने तयारी वन कार्यालयले गरेको थियो । गाडिमा बनाइएको केजमा राखेर बास स्थानमा छाड्ने तयारी गरेका बेला उडेर आफै गएको डिभिजन कार्यालयका निमित्त प्रमुख महेश कुमाईले बताउनुभयो । वन कार्यालयले वन्यजन्तु उद्दार केन्द्रमा राखेर गिद्धको उपचार गरेको थियो । गत असारमा उद्दार केन्द्र निर्माण भएपछि असजिलोमा फसेका, परेका वन्यजन्तुको उद्दार र उपचारमा सहज भएको प्रमुख कुमाईले बताउनुभयो ।

यो खैरो गिद्ध लोपोन्मुख समूहमा पर्छ । तराईदेखि मध्यपहाड सम्म यो रहन्छ । सिनोमा विषादी तथा पशुमा डाइक्लोफेनेकको प्रयोग, वास स्थानको अभाव, मानव अतिक्रमण, आगलागी डढेलो, आहाराको कमी तथा विद्युतीय तारका कारण यो प्रजातिको गिद्ध जोखिममा परेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update