Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका आन्तरिक रुटको भाडा घट्यो कुन रुटमा कति भाडा
रुकुम पश्चिमका ५४ आन्तरिक रुटको नयाँ भाडादर । यो भाडादर माघ १ गतेदेखि लागु हुने छ ।

लामो समयपछि रुकुम पश्चिमका आन्तरिक रुटको भाडा घटाइएको छ । गत मंसिर ८ गते भएको यातायात व्यवस्थापन सम्बन्धिको बैठकले गरेको निर्णयबाट गठित कार्यदलको सिफारिस अनुसार भाडादर पुनरावलोकन गरिएको हो । उक्त बैठकबाट गठित कार्यदलले नयाँ बाटो निर्धारण तथा भाडा पुनरावलोकनका लागि अख्तियारी पाएको थियो । सोही कार्यदलको सिफारिस अनुसार शुक्रबार बसेको यातायात व्यवस्था समितिको बैठकले माघ १ गतेदेखि लागु हुनेगरी भाडादर कायम गरेको छ ।

क बर्गको रुट, ख बर्गको रुट र ग बर्गको रुटमा भाडादर छुट्टा छुट्टै कायम गरिएको छ । क बर्गको रुटमा प्रति किलोमिटर ४, ख बर्गको रुटमा ७ र ग बर्गको रुटमा प्रतिकिलोमिटर ८ रुपैयाँका दरले भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । लामो समयदेखिको गुनासो र पुनरावलोकन गर्नुपर्ने माग आएपछि निर्णय नै गरेर भाडादर पुनरावलोकन कार्यदल बनाइएको प्रजिअ गैह्रेले बताउनुभयो । गत मंसिर २४ गते बसेको बैठकले यातायात व्यवसायि तथा सरोकारवाला सबैको सहभागितामा नयाँ बाटो निर्धारण तथा भाडादर पुनरावलोकन कार्यदल गठन गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको संयोजकत्वमा प्राविधिक, प्रहरी, ट्राफिक प्रहरी, सडक, यातायात कार्यालयको प्रतिनिधि तथा यातायात व्यवसायिहरुका प्रतिनिधि सम्मिलित कार्यदल बनेको थियो । माघ १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागिएको उक्त भाडादरबाट सर्वसाधारणले ठूलो राहत पाउनेछन् । यस अघि ४ सय भाडा लाग्ने ठाउँमा अब २ सय भन्दा कम रुपैयाँमै जान पाइने गरी नयाँ भाडादर कायम भएको छ ।

सबै सरोकारवाला सम्मिलित कार्यदलको सिफारिस अनुसार भाडादर कायम भएको र कार्यान्वयनमा पनि सबैको सहयोग आवश्यक हुने प्रजिअ गैह्रेले बताउनुभयो । शुक्रबार बसेको बैठकबाट कार्यदलको सिफारिस अनुसारको भाडादर कायम तथा अरु निर्णय पनि भएका छन् । जिल्लामा कुनै पनि सिन्डिकेट लागु नगर्ने गर्ने प्रयास गरेपछि सबैको सहयोगमा हटाउने निर्णय पनि बैठकले गरेको छ । नयाँ रुटमा यातायात चलाउनुपर्ने अवस्थामा आएमा एक महिना अघि रुट परमिट ल्याउने र सम्पूर्ण कानूनी प्रक्रिया पूरा गर्नुपर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update