Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा कोभिड १९, को समिक्षात्मक परामर्श बैठक
परामर्श बैठकमा सहभागिहरु ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कोभिड १९, को समिक्षात्मक परामर्श बैठक सम्पन्न भएको छ । नगर उप्रमुख राधा रोका, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको उपस्थितिमा नगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखाले परामर्श बैठकको आयोजना गरेको हो ।

बैठकमा चौरजहारी नगरपालिकाले कोभिड रोकथाम, नियन्त्रणमा हालसम्म गरेको गतिविधिका विभिन्न विषयमा जानकारी गराइएको थियो । स्वास्थ्य संयोजक डण्डप्रसाद शर्माले हालसम्म नगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणमा गरिएका विभिन्न गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

संयोजक शर्माका अनुसार हालसम्म नगरपालिकाका ७९ प्रतिशतलाई खोप लगाइएको छ । भोली आइतबारबाट सुरु हुने खोप अभियानमा वडा वडाका जनप्रतिनिधि, कर्मचारी परिचालन हुने र मादण्ड भित्र पर्ने सबैलाई खोप लगाउने गरी निर्णय भएको छ । 

बैठकमा सहभागि प्रमुख जिल्ला अधिकारी घिमिरेले कोही पनि खोप लाउनबाट बञ्चित नहुने व्यवस्था मिलाउनका लागि नगरपालिकालाई अनुरोध गर्नुभयो । सार्वजनिक क्षेत्र र ठाउँमा खोप कार्ड अनिवार्य गर्ने र नलगाएकालाई पनि सोही ठाउँबाट खोप लाउने व्यवस्था मिलाउनका लागि पनि उहाँले आग्रह गर्नुभएको छ ।

कोभिडसँग लड्ने भनेको अरु स्वास्थ्य सुरक्षाको मापदण्डको साथै खोप पनि महत्वपूर्ण भएकाले यसमा सबै गम्भिर हुनुपर्ने भन्दै प्रजिअ घिमिरेले चौरजहारी नगरपालिका स्थित सबै सरोकारवालाई यसतर्फ विशेष किसिमले लाग्ने अनुरोध गर्नुभएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update