Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटडाँडामा 'मुसी दरबार' बन्ने

रुकुम पश्चिमको मुसीकोट नगरपालिका ४, मुसीकोटडाँडामा अब मुसी दरबार बन्ने भएको छ । बाइसे–चौबीसे राज्य सञ्चालनका क्रममा रहेको दरबारकै मोडेलमा उक्त दरबार बनाउने तयारी भइरहेको छ । मुसीकोटडाँडामा दरबार मात्रै नभएर अरु विभिन्न भौतिक संरचना निर्माण भएका छन् ।

उक्त ठाउँमा अब थप दुई वटा मन्दिर निर्माण, चिडियाखाना निर्माण, कम्पाउण्ड वाल निर्माण, पिकनिक पार्क, फन पार्क, २ वटा प्रवेशद्धारा, बालबालिकाका लागि खेल्ने झुल, घण्टाघर, पानी ट्याङ्ककी लगायतका संरचना बन्ने भएका हुन् । यी संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआरको काम सुरु भएको छ ।

संघीय सरकार विशेष गरी अर्थ मन्त्री जनार्दन शर्माले यसको डिपिआर निर्माणका लागि एउटा टोली जिल्ला पठाउनु भएको छ । उक्त टोलीले डिपिआर निर्माणको काम थालेको छ । कति संरचना बनाउने त्यसमा लागत कति हुने, के कस्तो संरचना तयार गर्ने जस्ता कुरा पक्का भएपछि निर्माणको काम अघि बढ्ने मुसीकोट नगरप्रमुख देविलाल गौतमले बताउनुभयो ।

पछिल्लो समय पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको यो क्षेत्रलाई अँझ विशेष रुपमा व्यवस्थित गर्न खोजिएको बताउनुभयो । व्यवस्थित र विशेष बनाउने योजना अनुरुप नै संघीय सरकराले डिपिआर निर्माण गरी संरचना निर्माणको काम अघि बढाउने खोजेको नगरप्रमुख गौतमले बताउनुभयो । न्यून प्लानेट इन्जिनियरिङ सर्भिसेस लिमिटेड काण्ठमाडौंले यसको विस्तृत योजना प्रतिवेदन तयार पार्नेछ भने बजेट पर्यटन मन्त्रालयले खर्चनेछ ।  
 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update