Kakhara सबैको खबर सम्पूर्ण खबर
ज्यान मार्ने उद्योग, चोरी र आगलागिको मुद्धामा सजाय भोगिरहेकाले माफि पाए

प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार रुकुम पश्चिमबाट ४ जना रिहा भएका छन् । असल आचरण भएका र ५० प्रतिशत बढी कैद सजाय भुक्तान गरेका ४ जनालाई रिहा गरिएको हो । कारागार मुक्त हुनेहरु ज्यान मार्ने उद्योग, चोरी र आगलागिको मुद्धामा कैद सजाय भोगिरहेकाहरु हुन् । जसमा २ जना रुकुम पश्चिम र २ जना रुकुम पूर्वका रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

रिहा हुनेमा ज्यान मार्ने उद्योगमा दोषि ठहर भएका रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ का २० वर्षिय युवक छन् । उनले २ वर्ष ६ महिना कैद सजाय तोकिएमा १ वर्ष ५ महिना २८ दिन जेल सजाय भोगेका छन् । आगलागि कसुरमा दोषि ठहर भई ३ वर्षको कैद सजाय तोकिएकामा २ वर्ष ७ महिना १२ दिन कैद भुक्तान गरेका मुसीकोट नगरपालिका ११ का ४८ वर्षिय पुरुष पनि रिहात भएका छन् ।

त्यस्तै चोरी मुद्धामा दोषि ठहर भई कारागार चलान भएका रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ का २० वर्षिय र रुकुम पूर्वको सिस्ने गाउँपालिका ४ का २४ वर्षिय युवक पनि प्रजातन्त्र दिवसको अवसरमा जेलबाट छुटेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । अदालतले उनिहरु मध्य १ जनालाई ४ वर्ष र अर्कोलाई ३ महिनाको सजाय तोकेको थियो ।

असल आचरण भएका र ५० प्रतिशत भन्दा बढी कैद सजाय भुक्तान गरिसकेलाई विभिन्न अवसरमा राष्ट्रपतिबाट माफि दिने गरिएको छ । यसअघि संविधान दिवसको अवसरमा जिल्ला कारागार रुकुम पश्चिममा रहेका २ जनाको बाँकी रहेको कैद सजाय मिनाहा गरिएको थियो । रुकुम पूर्वमा कारागार नहुँदा रुकुम पश्चिमको कारागारमा दुई जिल्लाका कैदीबन्दीहरुलाई राख्ने गरिएको छ ।  
 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update