निर्वाचन:
निर्वाचन कुनै पनि व्यक्तिको मत जाहेर गर्ने एउटा वैधानिक मार्ग हो । यो एउटा औपचारिक निर्णय प्रक्रिया हो जस अन्तर्गत व्यक्ती (मतदाता) ले निर्वाचित हुन चाहने व्यक्ति वा पार्टीमध्ये कुनै एक वा आवश्यक सङ्ख्या जतिलाई सार्वजनिक पद धारण गर्नका लागि आफ्नो मत जाहेर गर्दछन् । तसर्थ निर्वाचन लोकमत मापण गर्ने वैधानिक विधि हो । यो कुनै पनि देशका नागरिकले अभ्यास गर्ने सार्वभौमिक अधिकार र राजनीतिक भूमिका भएकाले आफूले रोजेको प्रतिनिधि मार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्न निर्वाचन गर्ने गरिन्छ । निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । जनमतको परीक्षण तथा नविकरण गर्न देशको संविधान र कानुन अनुसार आवधिक निर्वाचन गर्ने गरिन्छ ।
निर्वाचन शिक्षाः
निर्वाचनसँग सम्बन्धित ज्ञान, जानकारी आदान प्रदान गर्नु नै निर्वाचन शिक्षा हो। Election is not a single day event. तसर्थ निर्वाचन शिक्षा पनि एक वृहत कार्य हो। यसले निर्वाचनका हरेक चरणमा हरेक व्यक्ति तथा निकायले यस सम्बन्धि जानकारी लिनु वा दिनुलाई वुझाउँदछ । जसलाई देहायबमोजिम बुझ्न सकिन्छ ।
क) निर्वाचन पूर्वको चरणमा निर्वाचन शिक्षा
निर्वाचन पूर्वको चरण निर्वाचन चक्रको सबैभन्दा लामो र प्रारम्भिक चरण हो । यो निर्वाचन घोषणा हुन अगाडिको चरण हो । यस चरण अन्तर्गत व्यक्तिलाई मतदाता नामावलीमा नाम दर्ता गर्न जानकारी दिने, मतदाता नामावलीमा रहेको त्रुटी सच्याउने, मतदातालाई आफ्नो अधिकार र कर्तव्यको वोध गराउने जस्ता कुराहरु निर्वाचन शिक्षा अन्तर्गत पर्दछन् ।
ख) निर्वाचन अवधिको चरण
यो निर्वाचन प्रक्रियाकाे सबैभन्दा महत्वपूर्ण चरण हो । यस अन्तर्गत मतदान गर्ने तरिका, आचारसँहिता पालन र कार्यान्वयन गर्ने, मतदानमा सहभागि हुने, उपयुक्त उम्मेदवार चयन गर्ने जस्ता जानकारी दिनु वा लिने जस्ता कुराहरु निर्वाचन शिक्षा अन्तर्गत पर्दछन् ।
ग) निर्वाचन पश्चातको चरण
तोकिएको निर्वाचनको अन्तिम परिणाम घोषणा भईसकेपछि र अर्को निर्वाचनको व्यवस्थापकिय कार्य प्रारम्भ नहुँदासम्मको चरण निर्वाचन पश्चातको चरण हो । यस चरणमा सरोकारवालाको भूमिकाको समिक्षा गर्नु र आगामी निर्वाचनको लागि पृष्ठपोषण दिनका लागि ज्ञान लिनु नै निर्वाचन शिक्षा हो ।
तसर्थ निर्वाचनका हरेक चरणहरुको बारेमा सुसुचित हुनु वा सुसुचित बनाउनु नै निर्वाचन शिक्षा हो । यो औपचारिक तथा अनौपचारिक दुबै माध्यमबाट दिने गरिन्छ । त्यस्तै निर्वाचन शिक्षा विभिन्न स्वरुपमा दिने गरिन्छ। जस्तै विद्यालय स्तरमा निर्वाचन शिक्षा, गाउँ टोलस्तरमा निर्वाचन शिक्षा, विभिन्न मिडियाद्वारा निर्वाचन शिक्षा, मतदाता शिक्षा आदि । निर्वाचन शिक्षाको सबैभन्दा महत्वपूर्ण स्वरुप भनेको मतदाता शिक्षा नै हो । जसको बारेमा छोटकरीमा चर्चा गर्नु आवश्यक देखिन्छ।
मतदाता शिक्षा (Voter Education)
लोकतान्त्रिक मुलुकका मतदाता (नेपालको हकमा १८ वर्ष पूरा भएका मतदाता नामावलीमा नाम रहेका नागरिक) लाई निर्वाचन प्रक्रियामा सहभागी हुनका लागि प्रदान गरिने आधारभूत जानकारीलाई मतदाता शिक्षा भनिन्छ । मतदाता शिक्षा मुख्यतया राज्य आफै वा निर्वाचन आयोगले प्रदान गर्ने गर्दछ । मतदाता शिक्षा अन्तर्गत देहायका पक्षहरु पर्दछन् ।
- लोकतन्त्र र यसको महत्वको बारेमा जानकारी
- मतदाता नामावली दर्ताको बारेमा जानकारी
- मतदान तथा मतपत्रको प्रयोगबारे जानकारी
- मतदाताको अधिकार र कर्तव्यको जानकारी
- निर्वाचन कसूर र सजाय सम्बन्धि जानकारी
- निर्वाचन प्रणालीबारे सामान्य जानकारी
निर्वाचन शिक्षाको आवश्यकता
समग्र निर्वाचन प्रक्रियालाई सफल बनाउन निर्वाचन शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । निर्वाचन शिक्षाको आवश्यकतालाई देहाय बमोजिम प्रस्तुत गर्न सकिन्छ।
- लोकतन्त्र र यसको मर्म बमोजिम शासन सञ्चालनमा सहयोग गर्न
- नागरिकलाई निर्वाचनका हरेक पक्षमा जानकारी दिन i-e. निर्वाचन सचेतना अभिवृद्धि गर्न
- मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा सहयोग गर्न
- मताधिकारको प्रयोग गर्न तथा नागरिक कर्तव्य पालन गर्न
- मतपत्रको प्रयोग तथा मतदानबारे जानकारी लिन
- निर्वाचन प्रणाली र प्रक्रियाका बारेमा जानकारी राख्न
- उपयुक्त उम्मेदवारको छनौट गर्न
- आगामी दिनमा निर्वाचन व्यवस्थापनमा पृष्ठपोषण प्रदान गर्न
नेपालमा निर्वाचन शिक्षाको अवस्था
नेपालको संविधान र संघिय कानुनको अधिनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघिय संसदका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने काम कर्तव्य र अधिकार रहेको संवैधानिक अङ्गका रुपमा रहेको निर्वाचन आयोगले निर्वाचन र व्यवस्थापनमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
निर्वाचन आयोगले आफै वा आफ्ना मातहतका कार्यालय मार्फत निर्वाचन शिक्षा प्रदान गर्ने सन्दर्भमा विद्यालयस्तरमा विद्यार्थिका लागि (जो भावि मतदाता हुन्) निर्वाचन शिक्षा, माध्यामिक तहका सामाजिक शिक्षकहरुका लागि तालिम जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । मतदाता शिक्षा अन्तर्गत विभिन्न माध्यमबाट श्रव्य दृष्य सामाग्री जस्तै जिङ्गल, नाटक, गित, सूचना प्रकाशन गर्ने गरेको छ । साथै निर्वाचन अवधिमा मतदाता शिक्षाका लागि जनशक्ती परिचालन गर्दै नमुना मतदान, सडक नाटक, पोष्टर, पम्पलेट, फ्लिप चार्ट, अनुरोध पत्र वितरण तथा प्रदर्शन लगायतका कार्य पनि गर्दै आएको छ । त्यस्तै आयोगले निर्वाचन शिक्षाका लागि विभिन्न जानकारीहरु आफ्नो वेबसाईट मा समेत राख्ने गरेको छ । यसरी निर्वाचन शिक्षाका कार्यक्रमहरु सञ्चालन हुँदा पछिल्लो निर्वाचनहरुमा मतदाताको सहभागिता बढ्नुका साथै बदर मत घट्दै गईरहेको छ भने निर्वाचन चेतना अभिवृद्दि भएको छ ।
पछिल्लो समयमा निर्वाचन शिक्षाको प्रभावकारिता अभिवृद्धि भई यसको नतिजा निर्वाचनको हरेक पक्षमा देखिरहेको छ तथापी निर्वाचन शिक्षाले प्रत्येक मतदातासम्म प्रभावकारी रुपमा पहुँच बनाउन सकेको छैन । यसका लागि नेपाल सरकार, निर्वाचन आयोग तथा सरोकारवाला निकाय अँझ अहिलेको परिप्रेक्ष्यमा स्थानीय तहले रचनात्मक भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो ।
लेखक जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वका जिल्ला निर्वाचन अधिकारी हुनुहुन्छ ।