रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३, मा ‘पूर्ण–शान्त सहिद स्मृति प्रतिष्ठान’को भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सहिद पूर्णप्रसाद शर्मा कार्वन र शान्तबहादुर पुन गोरे लगायतको सम्झनामा निर्मित यो भवनबाट आफ्ना गतिविधि सञ्चालन गर्ने छ ।
माओवादी केन्द्र चौरजहारीका अध्यक्ष श्रीकृष्ण शर्माले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । सहिद प्रतिष्ठानको नाममा बनिरहेको भवन पार्टी कार्यालयको रुपमा प्रयोग हुने अध्यक्ष शर्माले बताउनुभयो । तीन तलाको यो भवनमा पार्टी कार्यालय, पार्टीका १२ वटा भातृ संघ संगठनका कार्यालय, आवास र पाहुना कोठा समेतको व्यवस्था गरिएको छ ।
२३ कोठाको भवनमा बैठकका लागि हल समेत यो बनाइएको छ । घर निर्माणमा सवा १ करोड बढी बजेट खर्च भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । भवनमा ४ वटा व्यापारीक सटर छन् । जसमा माओवादी केन्द्रको चौरजहारी नगरपालिकाले मात्रै झण्डै ४२ लाख रुपैयाँ खर्चेको छ ।
पार्टीले जनप्रतिनिधि, शिक्षक र कर्मचारीबाट पार्टी कार्यालय निर्माणमा सहयोग संकलन गरेको थियो । अध्यक्ष शर्माका अनुसार कर्मचारीहरुबाट १४ लाख, शिक्षकहरुबाट ११ लाख र जनप्रतिनिधिबाट ९ लाख ३४ हजार रुपैयाँ सहयोग उठेको र बाँकी ऋण गरी जग्गा खरिदको काम गरिएको हो । सहिद प्रतिष्ठान भवन निर्माणमा संसद क्षेत्र विकास कोषबाट अनुदान प्राप्त भएको थियो ।