नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीयल) नेपाल रुकुम पश्चिमले आठबीसकोट ९ का राडीका रवि चन्दमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरेको छ । जिल्ला इन्चार्ज लक्ष्मण ओली र जिल्ला संयोजक जनककुमार विकले प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्नुभएकाे हाे ।
वाइसीयल आठबीसकोटका इन्चार्ज समेत रहेका चन्दमाथि सोमबार दिउँशो २ बजेतिर राडीमा स्थानीय कांग्रेस कार्यकर्ता गोविन्द शाही लगायतले खुकुरी र हथौडा प्रहार गरेका थिए । आक्रमणमा संलग्न शाही लगायत फरार छन् । इलाका प्रहरी कार्यालय नजिकै दिउँशै घटना हुँदा पनि आक्रमण गर्नेहरु पक्राउ नपर्नुले सुरक्षा निकायको लाचारीपनको खुलासा गरेको वाइसीयलले जनाएको छ ।
साथै वाइसीयलले यो घटनाले संगठनलाई गम्भिर बनाएको भन्दै घटनामा संलग्नलाई तत्कालै पक्राउ नगरिए संगठन आफैं खोजिमा निस्किने चेतावनी दिएको छ । संगठनले खोजतलास गर्नुपर्ने अवस्था आएमा जिम्मेवार निकाय नै जवाफदेही हुने र त्यसको परिणाम जटिल हुने चेतावनी संगठनले दिएको छ । साथै संगठनले घाइते चन्दको स्वास्थ्य लाभको कामना गरेको छ । खुकुरी र हथौडा प्रहारबाट गम्भिर घाइते भएका चन्दको सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।