Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा ५ दिने आधारभूत पत्रकारिता तालिम सुरू 
तालिमको उद्घाटन गर्दै मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम ।

रूकुम पश्चिमको मुसीकोट नगरपालिकामा ५ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सुरू भएको छ । प्रेस सेन्टर नेपाल मुसीकोटले तालिम आयोजना गरेको हो । तालिमको मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभयो । 

तालिम उद्घाटन गर्दै नगर प्रमुख गौतमले स्थानीय सरकारले गरेका राम्रा कामहरू बाहिर आउनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकार बनेपछि धेरै महत्वपूर्ण कामहरू भएको र ती कामको प्रचार हुन आवश्यक रहेको उहाँको भनाई छ । वडा तथा टोल स्तरमा भएका राम्रा कामहरू बाहिर ल्याउनुका साथै पत्रकारले नागरिकका आवश्यकताहरूलाई नगर सरकारसम्म ल्याउन भुमिका खेल्नुपर्ने बताउनुभयो । 

वडा तहसम्मै पत्रकारहरू उत्पादन हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य तथा पार्टीका कर्णाली प्रदेश सदस्य गोविन्द रोका विज्ञानले गरिव, निमुखा, पिछडिएका नागरिकहरूको बोली पत्रकारिता बन्नुपर्ने बताउनुभयो । साथै उहाँले माओवादीका कारणले मात्र देशमा परिवर्तन सम्भव भएको बताउनुभयो । 

यो व्यवस्थालाई संस्थागत गर्नका लागि माओवादी केन्द्रकै नेतृत्व आवश्यक रहेको पनि उहाँको भनाई छ । त्यस्तै नेकपा माओवादी केन्द्र मुसीकोट नगर समितिका अध्यक्ष धिरन शिर्पाली विमर्शले पनि उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो । 

प्रेस सेन्टर नेपाल मुसीकोट नगरपालिकाका अध्यक्ष दिपेन्द्र महताराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता गोप्यश्वर केसी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यहरू ध्रुबविक्रम बुढाथोकी, मेगराज खड्का, प्रेस सेन्टर जिल्ला समन्वय समिति रूकुम पश्चिमका अध्यक्ष हरि गौतम, प्रेस सेन्टरका पूर्व कर्णाली प्रदेश सदस्य धनकुमार शाही, पालिका अध्यक्षहरूको पनि आतिथ्यता रहेको थियो । 

प्रेस सेन्टर मुसीकोटका कोषाध्यक्ष खिमला पुनको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव लोकेन्द्र कठायतले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update