Kakhara सबैको खबर सम्पूर्ण खबर
'जनयुद्व'पछि सञ्चार र सञ्चारपछि सक्रिय राजनीतिक यात्रामा सोझिएका गोविन्द रोका ‘विज्ञान’का पाइला

केही समय नेतृत्वविहीन बनेको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले नेतृत्व पाएको छ । विशेष गरी, स्थानीय तह, प्रदेश र राष्ट्रिय महाधिवेशनपछि नेतृत्वविहीन बनेको जिल्ला समन्वय समितिको कमाण्ड गर्न गोविन्द रोका ‘विज्ञान’ आइपुग्नु भएको छ । रुकुम पश्चिमबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश सदस्यहरुको बैठकले सर्वसम्मत रुपमा रोकालाई पार्टीको जिल्ला संयोजक चुनेको हो । शनिबार जिल्ला सदरमुकाम खलंगा स्थित सहिद स्मृति प्रतिष्ठानको हलमा बसेको बैठकले सर्वसम्मत रोकालाई संयोजक चयन गरेको हो । केही समय अघिसम्म सञ्चार क्षेत्रमा क्रियाशिल रोका त्यस अघि नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा प्रत्यक्ष सहभागि हुनु भएको थियो । जनयुद्धको विभिन्न मोर्चामा आवद्ध भइ शान्ति स्थापनापछि पार्टीको निर्णय अनुसार नै रोका सञ्चार क्षेत्रमा जोडिनुभएको थियो । सञ्चार क्षेत्रमा पनि समाचार लेख्ने, समाचार पढ्नेदेखि नेपाल टेलिभिजनको व्यवस्थापन गर्ने महाप्रबन्धकसम्मको जिम्मेवारीमा रोका खटिनु भएको थियो । 

जनयुद्धपूर्व भूमिगत
२०५२ सालमै आइएसीसम्मको अध्ययन गरेका रोका २०५२ को मंसिर महिनामै भूमिगत हुनुभएको थियो । तत्कालिन नेकपा माओवादीले २०५२ को फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको थियो । रोका भने त्यस अघि नै भूमिगत हुनु भएको थियो सुरक्षा दल सदस्यको हैसियतमा रोका भूमिगत हुनु भएको थियो । त्यस अघि उहाँ विद्यार्थीकालदेखि राजनीतिमा जोडिनुभएको थियो । २०४५ सालमै रोकाले अनेरास्ववियू क्रान्तिकारीको सदस्यता लिनुभएको थियो । २०५४ सालमा पार्टीको एरीय सेक्रेटरीको भूमिका निर्वाह गर्नुभएका रोका २०५६ सालमा पार्टीको जिल्ला समिति सदस्य हुनुभएको थियो । २०६० सालमा तत्कालिन नेकपा माओवादीको आरबीएम अर्थात क्षेत्रीय व्युरो सदस्य हुनु भएका उहाँले जनयुद्धकालमा पार्टीले सञ्चालन गरेको रेडियो जनगणतन्त्रको इन्चार्ज भई कुशलतापूर्वक उक्त भूमिका निर्वाह गर्नुभएको थियो । २०६१ सालमा क्रान्तिकारी पत्रकार संघको संस्थापक सदस्य हुनु भएका उहाँ २०६३ क्रान्तिकारी पत्रकार संघ सचिव हुनु भएका उहाँ त्यसपछि भने फेरि पार्टी राजनीतिमा लाग्नुभयो । २०७३ सालदेखि पार्टीको कर्णाली प्रदेश सदस्य हुनु भएका हालसम्म पनि पार्टीको कर्णाली प्रदेश सदस्य हुनुहुन्छ । 

शान्ति स्थापनापछि सञ्चार क्षेत्रमा
पार्टी जिल्लाको मुख्य पदमा चयन हुनु भएका रोका जनयुद्धपछिको शान्तिकालभर सञ्चार क्षेत्रमा क्रियाशिल रहनुभयो । पार्टी र संगठनको निर्णय अनुसार नै उहाँ सञ्चार क्षेत्रमा खटिनुभएको थियो । जनयुद्धकामा रेडियो जनगणतन्त्रको नेतृत्व सम्हालिसकेका रोकाको सिप, दक्षतालाई ध्यान दिएर पार्टीले प्रचार मोर्चामा खटाएको थियो । जनयुद्धकालपछि अर्थात शान्तिकालमा उहाँले विभिन्न सञ्चार माध्यम स्थापनादेखि व्यवस्थापन सम्मको काम गर्नुभएको छ । २०६३ सालमा रेडियो नेपालबाट प्रशारण हुने घटना र विचार कार्यक्रमको प्रमुखको भूमिका निर्वाह गर्नुभएका रोका २०६४ सालमा काठमाण्डौं स्थित नेपाल एफ.एम.नेटवर्कको समाचार प्रमुखको रुपमा कार्यरत रहनुभयो । २०७० सालमा एबीसी टेलिभिजनको समाचार सम्पादकको रुपमा काम गरेका रोकाले त्यसपछि नेपाल टेलिभिजनमा काम गर्नुभयो । २०७३ सालदेखि २०७८ सालसम्म रोका नेपाल टेलिभिजनको महाप्रबन्धकको रुपमा काम गर्नुभयो । रोकाकै पालामा नेपाल टेलिभिजनले क्षेत्रीय प्रशारणहरु थालेको थियो । २०७८ सालमा उहाँ अर्थ मन्त्रालयको प्रेस तथा जनसम्पर्क सल्लाहकारको भूमिकामा पनि रहनुभयो । हाल उहाँ पत्रकारितामा स्नातकोत्तर हुनुहन्छ । पूर्वाञ्चल विश्व विद्यालयबाट स्नातकोत्तर गर्नुभएका उहाँ उहाँको ब्याचको टपर हो ।

‘जननियन्त्रित पार्टी र कार्यकर्ता नियन्त्रित नेता’ निर्माणमा निरन्तर कोसिस हुनेछ’  
जनयुद्धकालमा सक्रिय पार्टी राजनीतिमा रहेका रोकाले शान्तिकालमा सञ्चार क्षेत्र मार्फत जनताको सेवा गर्नुभयो । सञ्चार क्षेत्रमा झण्डै १५ वर्षपछि उहाँ सक्रिय राजनीतिमा फर्किनु भएको छ । उहाँले पार्टीलाई कम्युनिष्ट मूल्य मान्यतामा हिडाउनका लागि अधिकतम कोसिस गर्ने बताउनुभएको छ । जिल्ला संयोजक चयन भएपछि कखरासित संक्षिप्त प्रतिक्रिया दिँदै संयोजक रोकाले पार्टी भित्र अवसरहरुको समानुपातिक वितरण पद्धतिको विकास गर्ने, पार्टी र राजनीतिमा युवा आकर्षण बढाउने खालका आकर्षक योजना कार्यक्रम सञ्चालन गर्ने योजना सुनाउनुभयो । सहिद परिवार, घाइते, अपांगता भएका योद्धाहरु, पूर्व जनमुक्ति सेना, पार्टीमा लामो समय योगदान गरेकाहरुको सम्मानजनक वातावरण निर्माण गर्न निरन्तर कोसिस गरिरहने योजना रहेको पनि रोकाले बताउनुभयो । पार्टी परिचालन प्रणालीमा सुधार गर्ने योजना पनि उहाँले सुनाउनुभयो । पार्टीभित्र प्रविधिमैत्री संयन्त्रको विकास गर्ने र त्यसैबाट परिचालन प्रणाली सुधार्ने योजना रहेको संयोजक रोकाले बताउनुभयो । पार्टीमा नयाँ उभार सृजना गरी प्रतिसप्रधामा श्रेष्ठता कायम गर्ने, जननियन्त्रित पार्टी र कार्यकर्ता नियन्त्रित नेता बनाउनका लागि प्रयास गर्ने पनि रोकाको भनाई छ । 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update