मेलगैरी हत्याकाण्डको २६ वर्ष पूरा भएको छ । २०५२ साल फागुन १५ गते रुकुम जिल्ला अर्थात रुकुम पश्चिमको साविक पिपल गाविसको मेलगैरीमा ६ जना खत्रीबन्धुको हत्या भएको हो । प्रहरीले ६ जनाको एकै साथ हत्या गरेको थियो । तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको १५ औं दिनमा मेलगैरी हत्याकाण्ड भएको थियो । जनयुद्ध घोषणापछिको पहिलो सामुहिक हत्याकाण्ड मेलगैरी हत्याकाण्ड हो । प्रहरीले १५ गते मेलगैरीमा पिपलका ६ जना खत्रीबन्धुको एकै चिहान बनाएको थियो ।
बाँफिकोट प्रहरी चौकीबाट प्रहरीको टोलीले मेलगैरीको एक घरमा बसिरहेका सर्वसाधारणको हत्या गरेको हो । उक्त हत्याकाण्ड भएको आज २६ वर्ष पूरा भएर २७ वर्षमा प्रवेश गरेको छ । मेलगैरीमा कलबहादुर खत्री, लालबहादुर खत्री, पशुपति खत्री, दलबहादुर खत्री, मनबहादुर खत्री र १५ वर्षीय खड्कबहादुर खत्रीको हत्या भएको थियो । जिपु गाउँबाट करिब दुई/ तीन घण्टा उकालो हिडेपछि मात्रै मेलगैरी गाउँ आउँछ ।
लेकाली क्षेत्रका घरहरु भएकाले सुरक्षित हुने ठानेर त्यहि बसेको स्थानिय जोख बहादुर केसी ले जानकारी दिनु भयो । हाल मेलगैरी बाँफिकोट गाउँपालिका २, मा पर्दछ । फागुन १३ गते स्थानीय शिक्षक नरजित बस्नेतमाथी हमला भएको थियो । बस्नेतको हात काटिएपछि उनिहरुकै उजुरीका आधारमा पिपलमा प्रहरी आएको थियो । फागुन १४ गते बेलुका पिपल पुगेको प्रहरी टोली राती राती मेलगैरी पुगेर उनिहरुको हत्या गरेको थियो ।
६ जनाको हत्या गरेर अरु केहीलाई पक्राउ गरी प्रहरीले केही दिनसम्म कारागारमा राखेको थियो । कृषि गरेर जिविकोपार्जन गरिरहेका सर्वसाधारणलाई प्रहरीले माओवादीको आरोपमा हत्या गरेको थियो । यद्यपी उनिहरु ६ जना नै सर्वसाधारण किसान र विद्यार्थी थिए । पीडित परिवारले राज्यबाट राहत स्वरुप नगद प्राप्त गरेका छन् । घटनाका दोषिलाई कारबाही भएको छैन । विनाकारण अभिभावक, आफन्त गुमाएकाको पीडा हरेक वर्ष बढ्दै गएको छ । पार्टीले पनि सहिद परिवारका लागि साना तीना कार्यक्रम बाहेक खासै ठुलो कार्यक्रम गरेको जस्तो पाईदैन । भने सरकारले पनि सहिद परिवार लक्षित कार्यक्रम गर्न सकेको छैन ।