Kakhara सबैको खबर सम्पूर्ण खबर
स्थानीय तहले विकासको आधारशिला खडा गरिसके : प्रमुख शर्मा
नगर सभा उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा ।

जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले कानूनी शुन्यताबाट सुरु भएको स्थानीय तहको कामकाजले एउटा बलियो जग तयार पारेको बताउनुभएको छ । मुसीकोट नगरपालिकाको दशौं तथा अन्तिम नगर सभालाई सम्बोधन गर्दै प्रमुख शर्माले जिल्लाका सबै स्थानीय सरकारले विभिन्न समस्या र अभावका वावजुद विकासको बलियो आधारशिला खडा गरेको बताउनुभयो ।

कानूनी शुन्यता, कार्यविधि, योजना, कर्मचारी सबैको अपुगताका बीचमा काम थालेका स्थानीय तहले पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न लागेको प्रमुख शर्माको भनाई छ । यहीबीचमा आएको कोरोना महामारीका कारण पनि स्थानीय तहलको विकासको गतिमा केही समस्या भएको र त्यो अँझै जारी रहेको उहाँले बताउनुभयो ।

विभिन्न समस्याका वावजुद पनि मुसीकोट सहित जिल्लाका अन्य स्थानीय तहले जनताका आशा अपेक्षा, आवश्यक्ता पूरा गर्ने सन्दर्भमा महत्वपूर्ण योगदान गरेको शर्माले बताउनुभयो । स्थानीय सरकार भनेका जनताको घरदैलोको सरकार भएकाले बाटो,घाटो, खानेपानी, विजुली, शिक्षा, स्वास्थ्य र अन्य जनचेतनाका हिसावले महत्वपूर्ण योगदान गरेको शर्माले बताउनुभयो ।

मुसीकोट नगरपालिकाले कृषि उत्पादन र बजारीकरणका हिसावले सबै क्षेत्रमा पहिलो पाइला चालेर विकासको आधारशिला खडा गरेको समन्वय समिति प्रमुख शर्माले बताउनुभयो । यसमा पनि संघ र प्रदेश सरकार तथा स्थानीय सरकारको समेत साझा अधिकार तोकिएका विषयमा प्रष्ट नबनाउँदा ५ वर्ष सम्म पनि स्थानीय सरकारले समस्या भोग्नु परिरहेको भनाई शर्माको छ ।

यो नगर सभा अन्तिम नगर सभा हो । ५ वर्षमा दश वटा नगर सभा गर्नुपर्ने कानून छ । अब यो नगरपालिकाले थप नगर सभा आयोजना गर्नेछैन । यो नगर सभाले केही कानून पारीत गर्ने र बजेट तथा कार्यक्रम संशोधन गर्ने तयारी गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update