Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट नगरपालिकाले गर्यो २ सय ८७ योजनाको सम्झौता
नगर सभा सञ्चालन गर्दै सभाध्यक्ष देविलाल गौतम ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले हालसम्म २ सय ८७ वटा योजना सम्झौता गरेको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा सम्पन्न गर्ने गरी छनौट गरिएका ३ सय १५ योजनामध्य २ सय ८७ योजना सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ ।

सम्झौता भएका २ सय ८७ मध्यमा पनि १८ वटा योजना सम्पन्न भइसकेको दशौं नगरसभामा जानकारी गराइएको छ । उपप्रमुख प्रेमकुमारी सुनारले नगर सभामा पेश गरेको प्रगति प्रतिवेदनमा जम्मा योजनामध्य २८ वटा योजना सम्झौता हुन बाँकी रहेको उल्लेख छ ।

चालु आर्थिक वर्षमा मुसीकोट नगरपालिकाले सशर्त तथा निशर्ततर्फ २ सय ३२ योजना छनौट गरेको छ । जसमध्य २ सय १२ योजना सम्झौता भएका छन् । सम्झौता भएकामध्यमा पनि १८ वटा योजना निर्माण सम्पन्न भइसकेको जानकारी उपप्रमुख सुनारले नगर सभामा गराउनुभयो ।

नगरपालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छनौट गरेका २३ योजनमध्य १५ योजनाको सम्झौता भइसकेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका ६० योजनामध्य हालसम्म ६० वटै योजना सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ ।

ति योजना कार्यान्वयनमा रहेको र ३ सय ८० जनाले रोजगार पाइरहेको प्रगति प्रतिवेदनमा उल्लेख छ । बाँकी योजना कार्यान्वयनको क्रममा अरुले पनि रोजगार पाउने जनाइएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको हिउँदे अधिवेशन आज सम्पन्न गरेको छ । नगरप्रमुख देविलाल गौतमले सञ्चालन गरेको नगर सभाको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update