Kakhara सबैको खबर सम्पूर्ण खबर
यी हुन् वाइसीएल रुकुम पश्चिमका ६ पालिका इन्चार्ज
बैठकमा सहभागिहरु ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट युवा संगठन वाइसीएल रुकुम पश्चिमले ६ वटै पालिकामा इन्चार्ज तोकेको छ । आज जिल्ला सदरमुकाम खलंगामा बसेको बैठकले मुसीकोट, चौरजहारी र आठबीसकोट नगरपालिकाका इन्चार्ज, सह इन्चार्ज तोकेको हो ।

बाँफिकोट, सानीभेरी र त्रिवेणि गाउँपालिका इन्चार्जको टुंगो पनि बैठकले लगाएको जिल्ला संयोजक जनककुमार विकले जानकारी दिनुभयो । संयोजक विकका अनुसार मुसीकोट नगर इन्चार्जमा डम्मर थापा, चौरजहारी इन्चार्जमा लालबहादुर विष्ट र सह इन्चार्जमा बालकृष्ण बुढाथोकी तोकिएका छन् ।

बाँफिकोट इन्चार्जमा जोखबहादुर पुनलाई तोक्दा सानीभेरी गाउँपालिकाको इन्चार्जमा गोविन्द ओली र सह इन्चार्जमा गोविन्द विसी तोकिएका छन् । त्रिवेणि गाउँपालिकाको इन्चार्जमा राजेन्द्र विक तोकिएको संयोजक विकले जानकारी दिनुभयो ।

बैठकले फागुन १९ गते त्रिवेणिको गाउँ सम्मेलन, २० गते चौरजहारी नगर सम्मेलन र चैत्र ५ गते मुसीकोटको नगर सम्मेलन गर्ने निर्णय गरेको छ । आठबीसकोट नगर सानीभेरी गाउँपालिकाले यस अघि नै सम्मेलन सम्पन्न गरिसकेका छन् । बाँफिकोटको सम्मेलनको मिति तय हुन बाँकी रहेको जनाइएको छ ।

बैठकले संगठनका टोल, वडा स्तरीय बैठक, भेला र प्रशिक्षणलाई तिब्र बनाउने निर्णय पनि गरेको छ । बैठकले जिल्ला इन्चार्ज लक्ष्मण ओलीको नेतृत्वमा १ हजार १ सय सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । स्थानीय, प्रदेश र संघीय निर्वाचनमा यही समितिले वाइसीएल परिचालन गर्ने र परिचालन हुने जनाइएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार शर्मा, वसन्तकुमार शर्मा, नेता गोपाल शर्मा, जिल्ला संयोजक गोविन्द रोका, वाइसीएल कर्णाली प्रदेश संयोजक गणेश शाही, सहसंयोजक शेलेश शर्मा, जिल्ला इन्चार्ज लक्ष्मण ओलीको उपस्थितिमा वासीएलको बैठक बसेको हो । 
 

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update