रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ का युवाहरुका लागि नेतृत्व विकास सम्बन्धि अभिमुखिकरण संचालन गरिएको छ । वडाको आर्थिक सहयोगमा सृजनशिल युवा क्लवले वडाका युवाहरुका लागि नेतृत्व विकास सम्बन्धि अभिमुखिकरणको आयोजना गरेको हो ।
वडाको पेदीमा आयोजित कार्यक्रममा वडाका ४० जना बढी युवाहरुको सहभागिता रहेको थियो । युवाहरुलाई कानुन, सूचना सञ्चारको प्रयोग, स्थानीय तहको योजना छनौट प्रक्रिया र नेतृत्व तथा नेतृत्वमा हुनुपर्ने गुण लगायतका विषयमा सहजिकरण गरिएको थियो ।
समाजको खम्बाका रुपमा रहेका युवाहरुको क्षमता विकासका लागि यो कार्यक्रम बनाईएको वडाध्यक्ष विर्खबहादुर बिष्टले जानकारी दिनुभयो । युवाहरु सक्षम नभइकन समाजको विकास नहुने र अहिलेका युवा भोलीका समाजको नेतृत्व भएकाले उनिहरुको नेतृत्व विकास गर्न आवश्यक ठानेर कार्यक्रम बनाईएको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष गणेश विक चिन्तनले युवाहरु सृजनशिल बन्नुपर्नेमा जोड दिनुभयो । युवाहरुले नै अव समाजको नेतृत्व गर्नुपर्ने र यसका लागि उनिहरुले आफ्नो गाउँ ठाउँमा हुने सम्पूर्ण विकास निर्माणमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमको सहजिकरण सानीभेरी गाउँपालिकाका बाल अधिकार अधिकृत मानविर ओली, पत्रकार मनिष खड्का र शिक्षक अभिमान बिष्टले गर्नुभएको थियो ।
सृजनशिल युवा क्लवका अध्यक्ष दिपक नकालको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा वडा सदस्यहरु सीता पुन, लोकबहादुर पुन र सुधा ददेल तथा वडा सचिव तिलविर पुनको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन वडा कार्यालय सहायक नैनसिंह नकालले गर्नुभएको थियो ।